धनगढीः डडेल्धुरा जोड्ने राजमार्ग हो, भीमदत्त राजमार्ग। सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने वैकल्पिक सडक नभएकाले भीमदत्त राजमार्गलाई पहाडी जिल्लाको लाइफलाइन मानिन्छ। तर, त्यही लाइफलाइन सडकको भने बिजोक छ । एक सय ३५ किलोमिटर लामो राजमार्गको अधिकांश क्षेत्र क्षतिग्रस्त छ। राजमार्गको ६९ किलोमिटर खण्ड कैलाली तथा डोटी र डडेल्धुरामा ३३÷३३ किलोमिटर पर्छ।
डोटी र डडेल्धुरा खण्डको अवस्था सबैभन्दा दयनीय रहेको सवारी चालक रमेश अवस्थी बताउँछन्। ‘डडेल्धुरा खण्डको हगुल्टे लेक क्षेत्रमा त सडक कच्चीभन्दा पनि दयनीय छ,’ अवस्थीले भने, ‘सडकको अवस्था ठीक हुँदा डडेल्धुरादेखि धनगढी पुग्न साढे तीन घण्टा समय लाग्ने गरेको थियो। अहिले पाँच घण्टामा पनि पुग्न मुस्किल हुन्छ।’ हगुल्टे लेक क्षेत्रमा बर्सेनि हिमपात हुने गरेको छ । तर, सडक डिभिजन कार्यालयले सामान्य मर्मत मात्रै गर्ने भएकाले उक्त क्षेत्रमा सडक वर्ष दिन नपुग्दै भत्किने गरेको छ।
अर्का सवारी चालक दीपेन्द्र ऐरका अनुसार ठाउँ(ठाउँमा सडक भत्किएको र सयौँ खाल्डाखुल्डी भएकाले आवतजावतमा मुस्किल छ। ‘वर्षात्को समयमा त भगवान् भरोसामा यात्रा गर्नुपर्ने अवस्था छ,’ उनले भने। सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी तारानाथ सिग्देलका अनुसार राजमार्गको स्तरोन्नति नभए पनि कैलाली खण्डमा समय(समयमा आवधिक र पटके मर्मत हुँदै आएको छ। ‘अहिले सहजपुरदेखि फल्टुडेसम्म आवधिक मर्मत भएकाले उक्त क्षेत्रमा सडकको अवस्था ठीक छ,’ उनले भने, ‘अन्य क्षेत्रमा पटके मर्मत मात्रै हुने गरेको छ। त्यो भनेको खाल्डा पुर्ने काम मात्रै हो। त्यो दिगो हुँदैन।’ उनका अनुसार सहजपुरदेखि फल्टुडेसम्मको आवधिक मर्मतको काममा दुई करोड २६ लाख रुपैयाँ खर्च भएको हो।
राजमार्गको डडेल्धुरा र डोटी खण्ड भने सडक डिभिजन कार्यालय कुलपाते डोटीले हेर्दै आएको छ। कार्यालयका प्रमुख रमेश भट्टराईका अनुसार सडक मर्मतका लागि यसअघि ठेक्का भएको तर ठेकेदारले काम नगर्दा सडकको अवस्था झन् बिग्रिएको हो। ‘यसअघि सडक मर्मतका लागि तीनवटा ठेक्का लगाइएको थियो,’ उनले भने, ‘तर, ती ठेकेदारले न त मर्मतको काम गरे न कार्यालयले ठेक्का तोड्ने काम नै गरेको थियो। अहिले उक्त ठेक्का तोडेर नयाँ ठेक्का लगाएका छौँ ।’ राजमार्गको भात्काडादेखि गैरासम्म ५ करोडमा उच्चाकोटी निर्माण कम्पनीले ठेक्का पाएको छ। यस्तै, डडेल्धुरादेखि भात्काडासम्म दुई करोड रुपैयाँमा रुद्रावतीले ठेक्का पाएको छ। यसबाहेक डडेल्धुरादेखि बैतडी जोड्ने राजमार्गमा अनारखोली क्षेमा सडक मर्मतका लागि चार करोडमा उमा विल्डर्सले ठेक्का पाएको छ।
२०१८ सालतिर भीमदत्त राजमार्ग निर्माणको चर्चा सुरु भएकोमा त्यसपछि सडक रेखांकन र ट्र्याक खोल्ने काम भएर २०२९ सालमा पहिलोपटक डडेलधुरामा गाडी पुगेको थियो। २०४६ सालमा सुरु भएको कालोपत्रे गर्ने काम २०५२ सालमा सम्पन्न भएको थियो। कालोपत्रे भएको तीन दशक पुग्नै लाग्दा पनि सडक स्तरोन्नतिको काम भएको छैन। राजमार्ग सुधार र मर्मतका नाममा हरेक वर्ष खाल्डा पुर्ने मात्रै काम हुँदै आएको छ। तर, उक्त मर्मत पनि एक वर्ष टिक्ने गरेको छैन। यस्तै, भीमदत्त राजमार्गमा दर्जनौँ पहिरोले पनि सडक झन् क्षतिग्रस्त भएको छ। राजमार्गको बुढीतोला क्षेत्रमा त पहिरोले झण्डै तीन सय मिटर सडक बगाएको थियो। अहिले उक्त क्षेत्रमा ६ करोड ६० लाखको ठेक्का लगाएर काम भइरहेको सडक डिभिजन कार्यालय, महेन्द्रनगरका सूचना अधिकारी सिग्देलले बताए। ‘जीएसआई हटैराज जेभीले ठेक्का पाएर काम गरिरहेको छ,’ उनले भने, ‘उक्त क्षेत्रमा कटिङ र वाल लगाउनेलगायतको काम भइरहेको छ । पुसभित्र काम सम्पन्न गर्नुपर्ने सम्झौता छ।’