धनगढी: बैतडी जिल्लामा मालपोत कार्यालय छ। सो कार्यालयका हाकिम छन् अशोक सार्की।
उनै सार्कीले सेवाग्राहीबाट घुस लिएको विषय बाहिर आएको छ। एकै सेवाग्राहीबाट सार्कीले पटकपटक किस्ताकिस्तामा घुस लिने गरेको खुलेको हो।
स्रोतका अनुसार उनले छुट जग्गा दर्ताका लागि आवेदन दिएका एक जना सेवाग्राहीबाट पाँच पटक गरी ५१ हजार दुईसय रुपियाँ घुस लिएका हुन्।
उनले बुधबार कार्यकक्षमै पाटन नगरपालिका–८, का नरबहादुर विष्ट र धनसिंह विष्टबाट पाँचौँ पटक घुसको अन्तिम किस्ता लिने बेलाको भिडिओ सार्वजनिक भएको छ।
कार्यालय प्रमुखले सेवाग्राही विष्टबाट छुट जग्गाको फाइल दर्ता गर्नेबेला २०८१ वैशाख ३० गते पाँच हजार, स्थलगत सर्जमिन मुचुल्का बनाउने बेला फिल्डभत्ता भन्दै २०८१ साउन ६ गते १० हजार, त्यसपछि ६ हजार दुईसय, कर्मचारीलाई मिलाउनुपर्ने भन्दै २०८१ भदौ १७ गते २० हजार, काम सम्पन्न गरी दस्तखत गर्ने बेला असोज १६ गते घुसको अन्तिम किस्ता १० हजार गरी ५१ हजार दुईसय रुपियाँ घुस लिएको पीडितको गुनासो छ।
काममा ढिलाई गरेर झुलाएर घुस लिएको उनले जनाएका छन्। घुस लिएको भिडिओका विषयमा कार्यालय प्रमुख सार्कीले भने सेवाग्राही आफैंले टेबुलमा राखिदिएको बताएका छन्।