काठमाडौं: नेपाल प्रहरीका एक हवल्दार जेल चलान भएका छन्। चोरी मुद्दाकी पीडितलाई चोर पक्राउ गर्ने आश्वासन दिएर होटलमा लगि बलात्कार प्रयास गरेको भन्दै उनी जेल चलान भएका हुन्।
प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत अनिल कुमार दाहाल जेल चलान भएको बताइएको छ। जिल्ला न्यायाधीश पीताम्बर शर्माको इजलाशले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।
स्रोतका अनुसार एक महिलाको डेरामा चोरी भएपछि गत २० भदौमा स्वयम्भु वृत्तमा उजुरी दिएकी थिइन्। चोरी गर्ने व्यक्ति लैनचौर वृत्तमा रहेको खुलेपछि उनी त्यहाँ पुग्छिन्।
त्यहाँ चोरी आरोपी हुँदैनन् तर उनको भेट हवल्दार दाहालसँग हुन्छ। उनले चोरलाई पक्राउ गर्ने आश्वासन दिई आफ्नो नम्बर उपलब्ध गराउँछन्।
२९ भदौमा दाहालले ती महिलालाई फोन गर्छन्। चोर पक्राउ परेको भन्दै ठमेलमा आउन भन्छन्। तर, प्रहरी चौकीमा होइन होटलमा।
सञ्चरकोष अगाडिको ड्रंकेन इन प्रालिको ३०१ नम्बर कोठामा लिएर जान्छन्। जहाँ दाहालले आफुसँग जबरजस्ती सम्बन्ध राख्न खोजेपछि भागेको पीडित महिलाको जाहेरी उल्लेख छ।
बयानमा हवल्दार दाहालले महिलालाई होटलमा लिएर गएको स्वीकार गर्छन्। तर, आफुले शारिरीक सम्बन्ध राख्न खोजेको विषय स्वीकार गरेका छैनन्।