काठमाडौंः ललितपुरको भैंसेपाटी प्रभागभित्रै एक व्यवसायीलाई थुनामा राखेर ३० लाख असुलिएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
इटहरीका भिमादेवी थापा बिहीबार पक्राउ परेकी हुन्। यसअघि सुष्मा विक र ताज इस्लाम पक्राउ परेका छन्।
बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रभागकी इन्सपेक्टर बिनुकुमारी शाहीसँग मिलेर उनीहरुले एक व्यवसायीसँग ३० लाख असुली गरेका थिए। त्यसमध्ये २० लाख थापाको खातामा जम्मा गरिएको थियो।
घटनाको विषयमा उनी जानकार नरहेको र ताजले उनको खाता प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ। यो घटनामा इन्सपेक्टर शाहीमाथि समेत मुद्दा चल्ने बताइएको थियो। तर, एक सातासम्म उनको निलम्बन भएको छैन।
ललितपुरको भैंसेपाटीमा एक जग्गा व्यापारीलाई थुनामा राखेर पैसा असुल्ने घटनामा संलग्न गिरोहले विगतमा पनि यसैगरी प्रहरीसँग मिलेर धेरैलाई फसाइसकेको खुलेको छ।
सुनसरीका ताज इस्लाम नेतृत्वको समूहले गत जेठमा एमाले नेता तथा ठेकदार विदुर शर्मालाई पनि यसैगरी फसाएर १६ लाख रुपैयाँ असुलेको पुष्टि भएको छ।
इस्लामलाई ललितपुर प्रहरीले थुनामा राखी अनुसन्धान गरिरहेको छ। छानबिन गर्ने क्रममा उनीहरूले नै गत जेठमा शर्माविरुद्ध दरबारमार्ग वृत्तमा बलात्कारसम्बन्धि जाहेरी नै दर्ता गरेको समेत खुलेको छ।
पछि १६ लाख रुपैयाँ लेनदेन भएपछि मुद्दा फिर्ताका लागि हुलाकमार्फत निवेदन पठाइएको समेत प्रहरी स्रोत बताउँछ । शर्मा दोलखा एमालेका नेता हुन् ।
दोलखाकै मिटरब्याजी गणेश उप्रेतीसँगको विवादपछि त्यसरी युवती प्रहरी गरेर उनलाई फसाइएको अनुसन्धानमा पत्ता लागेको छ। पछि लेनदेनमा मिलापत्र भएको थियो। त्यसपछि आरोपीलाई प्रहरीले पनि खोजी नगर्नुले यसमा प्रहरीसम्म सेटिङ रहेको समेत आशंका गरिएको छ।
हाल ललितपुर प्रहरीले ताज इस्लामसहित सुष्मा विक र भिमाकुमारी थापालाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ। भैंसेपाटी प्रभागकी इन्स्पेक्टर बिनुकुमारी शाहीको आपराधिक समूहसँग साँठगाँठ प्रष्ट देखिएपछि उनलाई अझै नियन्त्रणमा लिइएको छैन।