काठमाडाैं: नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। उनीविरुद्ध केदार भण्डारीले अख्तियारसहित प्रधानमन्त्री कार्यालय, प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समिति र गृह मन्त्रालयमा पनि उजुरी दिएका हुन्।
कुँवरले प्रहरी सरुवा तथा बढुवामा आर्थिक लेनदेन गरेको, व्यापारीसँग असुली गरेकाे, तस्करबाट पैसा उठाएकाे लगायतका विभिन्न आराेपसहित उजुरी परेकाे स्राेतले जानकारी दिएकाे छ। उजुरीपछि अख्तियारले छानबिन प्रक्रिया सुरू गरिसकेकाे स्राेतले बताएकाे छ।
स्राेतका अनुसार कुँवरले गत १० साउनमा मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले २८९ जना लेखापाल सरुवा गर्दा प्रतिव्यक्ति २ देखि ७ लाखसम्म असुलेकाे उजुरीमा उल्लेख छ। यस्तै कुँवर मधेश प्रदेशमा (डिआइजी) भएको बेला हुन्डी कारोबारी र तस्करबाट नियमित उठाउन आफूअनुकूलका एसपीहरू पठाएको उजुरीमा दाबी गरिएको छ । त्यस्तै पूर्व एआइजी श्यामलाल ज्ञवालीसँग आर्थिक लाभ लिएर छानबिन तुहाएको पनि उजुरीमा उल्लेख छ।
७ असोज गते कुँवरले माेटाे रकम असुलेर एकै दिन ४१ जना प्रहरी उपरीक्षक (एसपी) र १४३ जना नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेकाे पनि उजुरी उल्लेख छ। उनलाई दक्षकुमार बस्नेतले २० लाख, राजकुमार श्रेष्ठले १५ लाख, जयश्वर रिमालले ३० लाख र दानबहादुर थापाले ३ लाख बुझाएका उजुरीमा उल्लेख छ।