काठमाडौं: नेपाल प्रहरीले आजको दिन मौलो पूजा गरेर मनाएको छ। बडादसैंको एक दिन अगाडि नेपाल प्रहरीले मौलो पूजा गर्ने चलन छ।
सोही बमोजिम प्रहरी प्रधान कार्यालयका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहितले देशैभर मौलो पूजा गरेका छन्।
हेडक्वार्टरसहित देशका सबै प्रहरी कार्यालयको हातामा मौलोमा संकल्प पूजा गरिएको बताइएको छ।
सम्पूर्ण प्रदेश प्रहरी कार्यालयका हाकिमहरुले पनि सादा पोसाकमा सजिएर पूजा गरेको पाइएको छ भने अन्यत्र पनि त्यस्तै प्रकारले पूजा गरिएको छ।
हेडक्वार्टरको हकमा बडा दसैँका अवसरमा नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजा र संकल्प गर्ने चलन छ।
सो क्रममा महानिरीक्षक कुँवरले बली पूजा गर्दै निशानमा पञ्जा छापसमेत लगाएका छन्। सो अवसरमा विशेष कार्य गरेका प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र थारूलाई नगद पुरस्कार प्रदान गरिएको छ।
महानिरीक्षकले पूजा गरेपछि प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गरेको बताइन्छ। पूजा बिसर्जनपछि निशान मूलकोत हनुमानढोका पठाइएको छ।
नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको थियो। जसमा दुई वटा निशान छन्। मुख्य निशानमा सूर्य र चन्द्रको बीचमा राम धनुष चिन्ह अंकित छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित छ। नेपाल प्रहरीले २०११ सालमा निशान झण्डा प्राप्त गरेपछि हरेक वर्ष बडा दशैँ र चैते दशैँमा मौलो पूजा गर्दै आएको छ।