धनगढी: बैतडीमा बेपत्ता पारिएको भनिएकी किशोरीको खोजतलासका लागि प्रहरी निरीक्षककै टोली खटाइएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीबाट इन्सपेक्टरको कमाण्डमा जम्भो टोली खोजीका लागि खटिएको हो।
बैतडी प्रहरीले किशोरीको खोजी कार्य तीब्र पारेको पनि जनाएको छ। अस्तिमात्र बैतडीमा युवतीलाई बेपत्ता पारेको आरोपमा प्रहरी चौकीका इन्चार्ज नै पक्राउ परेका थिए।
पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी अन्दाजी १९ वर्षीया किशोरी बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरका तत्कालीन इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशी समातिएका थिए।
उनी अहिले पनि थुनामै छन् भने किशोरी भेटिएकी छैनन्।
स्रोतका अनुसार उनीहरूबीच पहिलेदेखि लसपसको सम्बन्ध थियो। हवल्दार जोशी कञ्चनपुरको वेदकोट नगरपालिका–५ का स्थानीय हुन्। जोशीलाई शुक्रबार पक्राउ गरिएकोमा किशोरीका आफन्तले उनीविरुद्ध जाहेरी दिने पनि तयारी गरेको बताइएको छ।
शुक्रबारको अघिल्लो रात पानी ल्याउन भन्दै निस्किएकी किशोरी दोस्रो दिनको दिउँसोसम्म पनि घर नफर्किएपछि परिवारले उनको खोजी गरेका थिए। त्यसपछि हवल्दार र किशोरीको सम्बन्धको विषय खुलेकोमा जोशीले नै किशोरीलाई बेपत्ता पारेको आरोप लगाइएको थियो।
त्यसपछि अनुसन्धानका क्रममा प्रहरीले किशोरीले पानी ल्याउने भन्दै लगेको जर्किन प्रहरी चौकी नजिकै फेला परेको थियो।
यसैक्रममा युवती बेपत्ता भएको घटनामा चौकी इन्चार्ज पक्राउ परेपछि त्यहाँ कार्यरत अन्य प्रहरी समेत जिल्ला तानिएका थिए। अहिले उनीहरूको स्थानमा जिल्लाबाट असई सुरत बहादुर साउदको नेतृत्वमा ९ जनाको टोली खटाइएको छ। यस अगाडि तिनै हवल्दार जोशीको कमान्डमा ४ जना थिए।
र, यो पनि: बैतडीमा पुलिसकै चौकी इन्चार्ज पक्राउ, अन्य प्रहरी किन तानिए ?