धनगढीः कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको हत्या प्रकरणको अनुसन्धान जारी छ। प्रहरीको उक्त प्रकरणको अनुसन्धान नतिजा नजिक पुगेको दाबी गरेको छ।
घटनाको अनुसन्धानका लागि कञ्चनपुरका डीएसपी उमेश जोशी र प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोली शुक्रबार बिहानदेखि खटिएको थियो। यस्तै प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वमा अर्को टोली पनि परिचालन गरिएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय, महेन्द्रनगरका प्रमुख एसएसपी दिलिप देउवाका अनुसार इन्सपेक्टरको नेतृत्वमा अर्को टोली पनि खटाइएको हो।
घटनाको विषयमा बडायक दम्पतीका छोराको बयान पनि लिइएको उनले बताए। यस्तै अर्को कुकुर पनि अनुसन्धानमा खटाइएको छ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार स्थानीय तीन जनालाई शंकाको घेरामा राखेर अनुसन्धान अगाडि बढाइएको छ। ‘बडायक दम्पतीसंग लेनदेन भएका तीन जना घटनामा संलग्न हुनसक्ने देखिएको छ,’ ती प्रहरी अधिकारीले भने। शुक्रबार बिहानैदेखि लालझाडीमा रहेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको बताए। ‘बडायक दम्पतीका आफन्त, घरपरका स्थानीय र कारोबार चलाइरहने केही व्यक्तिसंग हामीले सोधपुछ गरेका छौं,’ उनले भने ।
तर, डीएसपी जोशीले अहिलेसम्म कसैलाई पक्राउ भने नगरिएको बताए । डीएसपी जोशीका अनुसार शुक्रबार बिहान रमेशको शव आँगनमा भेटिएको थियो भने उनकी श्रीमती कमलाको शव नजिकै बरण्डामा भेटिएको थियो। कमलाको शव सुत्ने ओछ्यानको नजिकै झुलमा रक्ताम्य लटपटिएको थियो। दुवै जनाको अनुहार र टाउकोमा चोट थियो।