धनगढीः कैलालीमा एक पुरुषको जुवा खालबाट भाग्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१२ का ४५ वर्षीय करन बिकको भीरबाट लडेर मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त इन्चार्ज प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार जुवाखालबाट भाग्ने क्रममा बिकको भीरबाट लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
‘घटना शुक्रबार राति १० देखि ११ बजेको हो,’ उनले भने, ‘स्थानीय १० जना प्रकाश साउँदको किराना पसलमा जुवा खेलिरहेका रहेछन्। सोही क्रममा प्रहरीको टोली देखेपछि सबै जना भागेका थिए।’
प्रहरी निरीक्षक भण्डारीका अनुसार प्रहरी देखेर भाग्ने क्रममा बिक लडेको कुरा अनुसन्धानबाट खुल्न आएको छ। ‘शनिबार उनी वडा नम्बर १२ कै कोल्मोडास्थित छोट्यास कुलोमा मृत फेला परेका छन्,’ उनले भने।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले प्रारम्भिक अनुसन्धानबाट लडेर मृत्यु भएको खुलेको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिए। ‘बिकका परिवारले लडेर मृत्यु भएको भन्दै जाहेरी दिएका छन्,’ उनले भने, ‘मृत्युको अन्य कुनै कारण भए प्रहरीले अनुसन्धान गर्छ।’