धनगढी: डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा भएको रात्रिबस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। घटनास्थलमा आज बुधवार बिहान थप एक जनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो।
बैतडीको पुर्चौंडी नगरपालिका–१० की ६० वर्षीया गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्रबहादुर बलमे जानकारी दिए। उनका अनुसार खोज तथा उद्धारका क्रममा उनको शव आज बिहान मात्रै फेला परेको हो।
दुर्घटनामा मृत्यु भएका अन्य चारजनाको पनि यसअघि नै सनाखत भइसकेको छ। पुर्चौंडी नगरपालिका–३ बस्ने ४५ वर्षीया जैमती बोहरा, सोही ठाउँकी २१ वर्षीया कमला बोहरा, उनका नाबालक छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको घटनास्थलमै मृत्यु भएको थियो।
महेन्द्रनगरबाट पुर्चौंडी जाँदै गरेको १७ जना यात्रु सवार ना ८ ख १०७८ नम्बरको बस गएराति साढे ११ बजेतिर अमरगढी-७ खसरेखानमा दुर्घटना भएको थियो। दुर्घटनामा १२ जना घाइते भएका छन्।
घाइते हुनेमा पुर्चौंडी नगरपालिका–७ का २४ वर्षीय नवराज साउँद, वडा नं. ६ का २४ वर्षीय राजेन्द्र साउँद, कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय दिनेश साउँद, डडेल्धुराको आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहरा, दार्चुलाको मार्मा गाउँपालिका–५ बस्ने ३४ वर्षीया विमला महता, कृष्णपुर नगरपालिका–५ की ६५ वर्षीया धनमती साउँद छन्।
यस्तै, पुर्चौंडी–८ का ४२ वर्षीय पदमबहादुर बोहरा, सोही ठाउँका बस चालक २४ वर्षीय वीरेन्द्र बोहरा, वडा नं. ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी, वडा नं. १० का दामोदर महरा र धनबहादुर महरा पनि घाइते भएको प्रहरी निरीक्षक बमले जानकारी दिए। उनका अनुसार घाइते सबैलाई धनगढी रेफर गरिएको छ।
बस सडकबाट झण्डै तीन सय मिटर खसेर पोखरा–बेलापुर सडकमा परेको थियो। प्रहरीका अनुसार गाडीको यान्त्रिक समस्या तथा पहाडको अप्ठ्यारो बाटोमा चालक निदाएकाले बस अचानक खसेको हुनसक्ने अनुमान गरिएको छ।
प्रहरीले बस सडकबाट पल्टिएको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ। अहिले चालक सिकिस्त भएकाले बस पल्टिएकोबारे थप विवरण खुल्न नसकेको जनाइएको छ।