धनगढी: कञ्चनपुर लालझाडी गाउँपालिकाको बिनबारीमा सुरक्षा चुनौती थपिएको भन्दै प्रहरी पोस्ट स्थापनाको माग गरिएको छ। स्थानीय रमेश बडायक र उनकी श्रीमती कमला बडायकको हत्या भएको चार दिनसम्म पनि घटनामा संलग्नहरूको पहिचान हुन सकेको छैन।
बिहीबार राति घरमा सुतेकै अवस्थामा दुबै जनालाई धारिलो हतियार प्रयोग गरि हत्या गरिएको थियो। शनिबार घटनास्थलमा पुगेका प्रतिनिधि सभा सदस्य तारालामा तामाङसहितको टोलीले उक्त क्षेत्रमा सुरक्षा निकाय पुग्न नसकेको भन्दै तत्काल प्रहरी बिट स्थापना गर्नु पर्ने बताएका छन्।
केही वर्ष पहिले पनि लालझाडीमा एक जनाको हत्या भएको थियो। अझैसम्म पनि त्यो घटनामा संलग्नहरू पक्राउ पर्न सकेका छैनन्। स्थानीयले दम्पती हत्याको विषयमा प्रहरीले गम्भीर अनुसन्धान गरि तत्काल दोषि पक्राउको माग गरेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी रविन्द्र केसीले अनुसन्धान साघुँरिदै गएको भन्दै केही दिनमा दोषि पक्राउ गर्ने दाबी गरेका छन्।