धनगढी: धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपी) ले कैलाली प्रहरीमाथि प्रश्न उठाएका छन्। शनिबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जिल्ला प्रहरी कार्यालय कैलालीमाथि प्रश्न उठाएका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘कैलाली जिल्ला प्रहरी ?’ तर उनले किन प्रहरीमाथि प्रश्न तेर्साएका हुन त्यो भने खुलाएका छैनन्। तर प्रहरी स्रोतका अनुसार शनिबार राति उनकी बहिनी सवार सरकारी गाडी चेकिङमा परेको विषयलाई लिएर उनले सो कुरा लेखेका हुन्।
के हो कारण ?
हिजो बिदाको दिन (शनिबार) त्यो पनि रातिको समयमा धनगढी उपमहानगरपालिकाको सरकारी गाडी भारततर्फबाट धनगढीको ट्राफिक चौराहातर्फ आउँदै थियो। त्यहीँ क्रममा चौराहामा नेपाल प्रहरीको बिशालनगरको टोली र चौराहास्थित ट्राफिक प्रहरी हवल्दार तेज बिष्टको टोली चौराहामा खटिएको थियो।
संयुक्त चेकिङ रहेकै बेला त्यो सरकारी गाडीलाई प्रहरीले रोक्यो। रोकेपछि उनीहरूले सोधखोज गरे। त्यतिबेलासम्म सो विषय प्रहरीकै माथिल्लो तहसम्म रिपोर्टिङ भैसकेको थियो। त्यत्तिकैमा प्रहरीको माथिल्लो तहबाट फोन गएपछि चेकिङमा परेको सो गाडीलाई पूरा चेकिङ नगरी छाडिएको थियो।
त्यसपछि सोही विषयमा असन्तुष्टि पोख्न मेयर हमालले स्टाटस लेखेको बताइको हो। प्रहरी स्रोतका अनुसार दिल्लीको बाटो भएर विदेशबाट फर्किएकी मेयर हमालकी बहिनी सो सरकारी गाडीमा धनगढी आएकी थिइन्।
सोही क्रममा प्रहरीले धनगढीको ट्राफिक चौराहामा सरकारी सवारी राति अनुमतिबेगर शनिबारको दिन चलेको देखेपछि चेकजाँच गरेको थियो।
बिदाको दिन सरकारी सवारी चलाउन प्रशासनबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ। केही समययता कैलाली प्रहरीले दिपावलीलाई मध्यनजर गरेर सिमानाका सहित अन्यत्र पनि चेकिङमा कडाई गरेको प्रहरी प्रमुख एसपी पदमबहादुर बिष्टको भनाई छ। सिमामाबाट भित्रिने सबै गाडीमा कडा निगरानी गरिरहेको उनको दाबी छ।