पोखरा: नेकपा (एमाले)को भ्रातृसंगठन राष्ट्रिय युवा संघ नेपालको १०औँ महाधिवेशन जारी छ। पोखरामा जारी महाधिवेशनमा अहिलेसम्म पनि निर्वाचन प्रक्रिया सुरु नभएपछि विभिन्न नाराबाजी सुरु भएका छन्।
यसैक्रममा धनगढीका युवामाझ लोकप्रिय नेता विनय शाहलाई महासचिव बनाउन भन्दै नाराबाजी गरिएको हो। शाह यसअघि युवा संघ नेपालको सुदूरपश्चिम इन्चार्ज एवं सचिव थिए।
यस्तै अध्यक्षका दाबेदार सुमन पुरीको पक्षले पनि निर्वाचन माग्दै नाराबाजी गरेको बताइएको छ। शुक्रबार (जेठ ९) महाधिवेशन उद्घाटन गरिएको थियो।
सर्वसम्मतिमा नेतृत्व चयनको प्रयास गरिए पनि त्यसले सार्थकता पाउन सकेको छैन। बरु, नेतृत्वका आकांक्षीले निर्वाचन माग्दै आफ्नो पक्षमा माहोल बनाउन कार्यक्रमस्थल पोखरा सभागृहको भित्र र बाहिर नाराबाजी गरेका छन्।
निर्वाचन माग गर्दै क्षितिज थेबे, सुमन पुरी र महाराजा गुरुङ लगायतको समूहबाट छुट्टाछुट्टै प्रदर्शन गरिएको हो।
महाधिवेशनमा एक हजार ७०० प्रतिनिधि छन्। महाधिवेशनस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।