धनगढी: भारतको दिल्लीमा भएको ठूलो चोरी घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ८ जना रिहा भएका छन्। जसमध्ये एकजना हाजिरजमानीमा छुटेका हुन् भने सात जना धरौटीमा रिहा भएका हुन्।
प्रहरी स्रोतले दिएको जानकारी अनुसार घटनाको थप अनुसन्धान भने जारी छ। अहिले कैलालीको अत्तरिया, सुखड र धनगढीक्षेत्र भ्याएर लम्कीतिर अनुसन्धान सोझिएको छ।
नयाँ तथ्य र मानिस नसमातिएको अवस्थामा जिल्ला अदालत कैलालीले बिहीबार भएको थुनछेक बहसपछि धनगढीको रोविक सुनचाँदी पसलका सञ्चालक रोहित सिजापतीसहितका सात जनालाई धरौटीमा छाडेको थियो।
सिजापती र गोदावरीका मिनबहादुर गुरुङ १२/१२ हजार धरौटी बुझाएर थुनामुक्त भएका हुन् भने धनगढीको एसके सुनचाँदी पसलका सञ्चालक सुरेश बर्मा, दिपेन्द्र सोप अछामको मेल्लेख गाउँपालिकाको सेल गाउँका राजेश साउद, गोकुल साउद र सुरेश साउद जनही ७÷७ हजार धरौटी बुझाएपछि रिहा भएका हुन्।
यो प्रकरणमा पक्राउ परेका अत्तरियाका रिकन्डीसन व्यवसायी एवं आफूलाई कलाकार बताउने ज्ञानेन्द्र खड्का भने मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयबाट हाजिरी जमानी छुटेका थिए।
इलाका प्रहरी कार्यालय मालाखेतीकाअनुसार बोलाएका बेला हाजिर हुनेगरि खड्कालाई सरकारी वकिलको कार्यालयले हाजिरी जमानीमा छाडेको हो।
खड्कासहितका आठ जना ११ अप्रेलमा भारतको दिल्लीका दिल्लीमा स्थानीय कपिल बद्रीलालको घरमा चोरी भएको घटनामा जोडिएको पाइएपछि पक्राउ परेका थिए। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले गरेका अनुसन्धानमा उनीहरु पक्राउ परेका थिए।
उनीहरुको साथमा नगद २८ लाख नेपाली रुपैयाँ, दुई सय ४० ग्राम सुन, १३ तोला सुनको गरगहना, चार किलो नौ सय ग्राम चाँदी र चार वटा घडी फेला परेको छ। त्यो सामान पीडित पक्षलाई फिर्ता गरिनेछ ।
भारतीय दुतावासमार्फत बद्रीलालको घरमा दुई किलो सुन, २२ लाख भारतीय रुपैयाँ, १० किलो चाँदी र १० वटा घडी चोरी भएको भन्दै दुतावासमार्फत समन्वयका लागि नेपाल प्रहरीलाई पत्राचार गरेको थियो। त्यसपछि अनुसन्धान थालिएको थियो।
भारतमा संगठीत रुपले पैँसा तथा गरगहना चोरी गर्ने गिरोह लामो समयदेखि सक्रिय रहेपनि कानुनी जटिलताका कारण प्रहरीलाई मुद्दा चलाउन समस्या छ। त्यसैले प्रहरीले चोरी शिर्षकमा मुद्दा नचलाएर अभद्र व्यवहारमा दर्ता गरेर अनुसन्धान गर्ने गरेको बताउँदै आएको छ।
भारतकै राजस्थान बस्ने दिल्लीमा घर भएका भारतीय नागरिक कपिल बद्रीलालको घरमा उक्त चोरी घटना भएको बताइएको छ। यो प्रकरणमा संलग्न अन्य दुई जना भारतीय नागरिकसहित झापाका देव मल्ल र दोलखाका शंकर लामा भारतको दिल्लीमा पक्राउ परेका छन् भने अन्य तीन जना अझै फरार रहेको प्रहरीले जनाएको छ। उनीहरुको खोजी जारी छ।
स्रोतका अनुसार यो गिरोहले घरेलु कामदारमार्फत सूचनासंकेत दिने, योजना बनाउने र चोरी गरिएका सामान नेपाल ल्याएर सुनचाँदी व्यवसायीमार्फत बिक्री गर्ने गरेको पाइएको छ। दिल्लीस्थित गिरोहले सुरुमा लक्षित घरमा नेपाली कामदार भर्ना गराउने, ती कामदारबाट घरभित्रका मूल्यवान वस्तुको जानकारी सङ्कलन गर्ने र त्यसैको आधारमा चोरी गरिने गरेको देखिएको छ। चोरीपछि उक्त सामान नेपाल ल्याइने र यहाँका व्यवसायी र विचौलियाको सहायताले बिक्री गरिने गरेको खुलेको छ।
भारतमा हुने चोरीको हकमा दुई देशबीचको संयुक्त कानुन अभावमा सोही शिर्षकमा मुद्दा चलाउन चुनौतीपूर्ण भएपनि प्रहरीले समन्वय गरेर आरोपीतको साथमा भेटिएको नगद र गरगहना सम्बन्धीत पक्षलाई नै फिर्ता गराउने गरेको छ।
प्रहरीकाअनुसार भारतमा घरेलु कामदारका रुपमा जाने नेपालीहरु संगठित रुपमा चोरीमा संलग्न हुने गरेको देखिन्छ।
यो गिरोहमा विचौलियाको भूमिकामा अत्तरियाका खड्का र गुरुङ थिए भने यसमा केही प्रहरीसमेत मुछिनसक्ने भन्दै उनीहरूलाई पनि टार्गेटमा राखिएको जनाइएको छ। प्रहरीले मिलेमतो गरेर आर्थिक चलखेल गराएको हुनसक्ने अनुमान छ।
र, यो पनि: भारत–सुदूरपश्चिम चोरीको र्याकेट: अत्तरियाका खड्का ‘हाजिरजमानी’मा छुटे, ७ जनाको के होला ?
भारत–सुदूरपश्चिम सँगठित चोरीको र्याकेट: ‘सुनवाला’ खड्कासहित ८ जना खोरमा, प्रहरी पनि ‘टार्गेट’मा