धनगढी : धनगढीसँग नाका जोडिएको गौरीफन्टा नाकाबाट नेपाल आउँदै गरेका एक युवकबाट दुई जना अटो चालकले नेपाली सुरक्षाकर्मीलाई दिने भन्दै पैसा मागेपछि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अटो चालक धनगढी उपमहानगरपालिका-३ मिलन चोक बस्ने २८ वर्षका मानबहादुर बयाडी र धनगढी-२ चौराह बस्ने ३१ वर्षका करन बोहरा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुले शुक्रबार गौरीफन्टा नाकाबाट नेपाल आइरहेका गोदावरी नगरपालिका-२ अत्तरिया बस्ने २७ वर्षका लोकेन्द्र ओझाबाट दुई हजार भारतीय रुपैयाँ मागेका थिए। नेपालका सुरक्षाकर्मीलाई दिनुपर्छ भन्दै पैसा मागेको पाइएपछि दुबै जनालाई सशस्त्र प्रहरी त्रिनगरबाट खटिएको टोलीले नियन्त्रणमा लिएर कैलाली प्रहरीको जिम्मा लगाइएको जनाइएको छ।
सुरक्षा संगठनलाई नै बदनाम गर्ने कार्य गरेको भन्दै उनीहरुमाथि कानुनबमोजिम कारबाही अगाडि बढाइएको कैलाली प्रहरीले बताएको छ। ओझालाई उनको पैसा समेत फिर्ता गराइएको छ।