काठमाडौं: भारतको सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक नेपाल आउन लागेका छन्। दुई महिनाअघि मात्र सो पदमा नियुक्त अमृत मोहनप्रसादको नेतृत्वमा नौ सदस्यीय टोली चार दिने भ्रमणका लागि शुक्रबार साँझ काठमाडौं आइपुग्ने कार्यक्रम छ।
केही समयअघि रोकिएको भ्रमण अहिले हुन लागेको हो। सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालको निम्तोमा आउन लागेका अमृत मोहनप्रसादको टोलीले मंसिर १ गते औपचारिक भेटवार्ता गर्ने छ।
मंसिर २ गते घुमघाम र भोलिपल्ट पुनः बैठकपछि मंसिर ३ गते साँझ नयाँ दिल्ली फर्कने भ्रमण तालिका बनाइएको छ। अमृत मोहनप्रसादलाई भारत सरकारले गत सेप्टेम्बरमा महानिर्देशकमा नियुक्त गरेको थियो।
सशस्त्र सीमा बल भारतको गृह मन्त्रालय अन्तर्गत केन्द्रीय सशस्त्र प्रहरी बल हो। यसलाई नेपाल र भुटानसँगको भारतीय सिमाना हेर्ने जिम्मेवारी दिइएको छ। यो बल सन् १९६३ मा सकिएको चीन–भारत युद्धपछि भारतीय सीमा क्षेत्रलाई थप प्रभावकारी बनाउन विशेष सेवा ब्यूरोका नाममा गठन गरिएको थियो।
यस्तै नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर स्वदेश फर्केका छन्। उनी बेलायतको ग्लास्गोमा आयोजित इन्टरपोलको ९२ औं महासभामा सहभागी भएर हिजो अपरान्ह स्वदेश आइपुगेका हुन्।
श्रीमती लक्ष्मी कुँवर,सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलसहित त्यता गएका उनी फ्लाई दुबईको उडान नम्बर एफजेड ८६३९ मा अपरान्ह सवा ४ बजे भैरहवा हुँदै काठमाडौं आइपुगेको बुझिएको छ।