काठमाडौं: मुद्धा जिताइदिने भन्दै सेवाग्राहीसंग घुस लिँदै गरेका कपिलवस्तु जिल्ला अदालतका ४ जना कर्मचारी रङ्गेहात समातिएका छन्।
अदालतको तसहिल फाँटका तहसिलदार सन्तोष मिश्रा, कम्प्यूटर अपरेटर विकास पाण्डे, नासु पशुपति डुम्रे र वेगम भुसाल २० हजार घुस रकम लिँदै पक्राउ परेका हुन्। अख्तियारको टोलीले आज दिउँसो ३ बजे तौलिहवा गौढीचोकस्थित एक चिया पसलबाट उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ।
प्रहरी स्रोतले दिएको जानकारीअनुसार अंशबण्डा मुद्धाका प्रतिवादीलाई घुस नदिएसम्म जग्गा बाडफाँड नगरिदिने र कामसमेत रोकिराख्ने भन्दै कर्मचारीहरुले १ महिनादेखि झुलाउँदै आएका थिए। सेवाग्राहीलाई बाध्य पारेर घुस दिन राजी बनाई उनीहरुले आज चिया पसलमा बोलाएका थिए।
विशेष सुराकीका आधारमा त्यहाँ पुगेको बुटवलस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई घेरा हाली खानतलासी गर्दा रकम फेला परेको बताइएको छ। पक्राउ परेका तहसिल फाँटका कर्मचारीलाई आवश्यक अनुसन्धान गरी मुद्धा दायर प्रक्रियामा लैजाने अख्तियारले जनाएको छ।
रुपन्देहीको भैरहवा घर भएका तहसिलदार सन्तोष मिश्रामाथि यसअघि पनि पटक-पटक सेवाग्राहीलाई दु:ख दिएको आरोप थियो। यसबारे अदालतका श्रेस्तेदार हेमन्त ज्ञवाली र न्यायाधीशसमक्ष गुनासो गर्दा पनि उनीमाथि कुनै कारवाही गरिएको थिएन।
यस्तै न्यायाधीशलाई घुसको प्रस्ताव गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई नसिहतसहितको सजायको निर्णय भएको छ।
नेपाल कानून व्यवसायी परिषद्को कात्तिक २५ गते बसेको बैठकले अधिवक्ता पोखरेललाई कानून व्यसायीको आचारसंहिता २०५१ अनुसार नसिहतसहितको सजायको निर्णय गरेको हो।
अधिवक्ता पोखरेलले सिभिल सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीशसँग घुसको प्रस्ताव गरेका थिए। पोखरेलले न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेको अडियो नै बाहिरिएको थियो।