दार्चुला: दार्चुलाको शैल्यशिखर नगरपालिकाले आज शोक बिदा दिएको छ। शैल्यशिखर–६ बजानीमा बिहान भएको जिप दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताए।
दुर्घटनामा नगरपालिकामा कार्यरत अमिन वीरेन्द्रसिंह रावल, गोकुलेश्वर क्याम्पसमा कार्यरत मीना लेखक र दिलिपसिंह विष्टलगायत ८ जनाको मृत्यु भएको शोकमा बिदा दिइएको नगरपालिकाले जनाएको छ।
शुक्रबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो।
मृतकमध्ये दुई जना भारतीय नागरिक, दुई जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका छन्।
दुर्घटनामा ४५ वर्षीय मोहम्मद सफीर, १८ वर्षीय मोहम्मद बसिर, शैल्यशिखर नगरपालिका–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, ३० वर्षीय वीरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–५ बस्ने ४० वर्षीया मीना लेखकको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राजीव बस्नेतले जानकारी दिए।
यस्तै, बैतडीको डिलासैनी गाउँपालिका–५ नगराउँका १५ वर्षीय सुदिप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहराको पनि मृत्यु भएको हो।
जिप तीन सय मिटर तल भीरमा खसेर रुखमा अड्किएको थियो। मालिकार्जुन जात्राबाट गोकुलेश्वर गइरहेको जिपमा तिर्थालु सवार थिए।