धनगढी: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा कुनै समस्या नभएको दाबी गरेका छन्।
नेपाल प्रेस युनियन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले लिखित सहमतिअनुसार अहिलेको गठबन्धन २०८४ सालसम्म नै चल्ने दाबी गरेका हुन्। सुरुको दुई वर्ष एमाले र त्यसपछि कांग्रेस नेतृत्वमा सरकार सञ्चालन गर्ने सहमति भएको उनले बताए।
सभापति देउवाले २०८४ सालको प्रतिनिधिसभा निर्वाचनमा आफू लड्ने/लड्ने विषयमा डडेल्धुराका नागरिकलाई सोध्नुपर्ने बताए।
देउवाले सुदूरपश्चिमको राजधानी डडेल्धुरा सार्छु भनेर यसअघि पनि आफूले आश्वासन नदिएको दाबी गरे। राजधानी नै सार्छु नभनेको तर डडेल्धुराभन्दा बरु डोटीका लागि कुरा भएको उनले बताए।
यस्तै देउवापत्नी तथा परराष्ट्र मन्त्री डा. आर्जु राणा देउवाले गेटामा मेडिकल विषयको अध्यापनका लागि नेपाल सरकारले रणनीति तयार गरिरहेको बताएकी छन्।
शुक्रवार गेटा विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री राणाले गेटाको विषयमा सरकारले काम गरिरहेको बताएकी हुन्। उनले स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र नेपाल सरकारले गेटामा मेडिकल विषयको अध्यापन सुरू गर्न संयुक्त रुपमा रणनीति तय गरिरहेको बताइन्।
‘नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले गेटामा मेडिकल विषयको अध्यापन सुरू गर्ने विषयमा रणनीति बनाइरहेको अवस्था हो’, उनले भनिन्, ‘गेटामा यतैको डाक्टर श्रीपाइली निर्देशक हुनु भएको छ र यहाँको सबैले गेटा सञ्चालनका लागि सकारात्मक भूमिका खेल्नुपर्छ भन्ने मेरो आग्रह छ।’
डडेल्धुराको उग्रतारा मेलामा सहभागी हुन मन्त्री राणा शुक्रवार धनगढी आइपुगेकी हुन्। उनलाई प्रदेश मन्त्री, संघीय सांसद, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र नेपाली काँग्रेसका नेता कार्यकर्ताले विमानस्थलमा स्वागत गरेका थिए।