काठमाडौं: बझाङ घर भएर काठमाडौं बस्दै आएकी एक महिला पक्राउ परेकी छन्। एमालेका केन्द्रीय सदस्य तथा बझाङका युवा नेता ऐन महरको जाहेरीले बझाङ घर भएकी रश्मिलाकुमारी धामी पक्राउ परेकी हुन्। उनलाई उच्च अदालत पाटन बाहिरबाट बुधबार प्रहरीले पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए।
उनका अनुसार काठमाडौं प्रहरी परिसरको खोजी सूचीमा रहेकी धामीलाई आज समातिएको हो। उनले प्रहरीलाई देख्नासाथ अदालत परिसरमै विष सेवन गरेकी थिइन्। यसपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बुधबार पाटनस्थित उच्च अदालत परिसरबाट उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीसँग उनको भेट भएको थियो। प्रहरीलाई देखेपछि उनले आत्तिएर विषादीजन्य वस्तु सेवन गरेको र पक्राउ गरी उनलाई उपचारका लागि पुल्चोकस्थित अल्का अस्पताल लगिएको छ।
उनीमाथि आपराधिक लाभ लिन खोजेको कसूरको आरोप छ। महरले आफूमाथि ‘हनी ट्रयाप’ मा पारेको भन्दै काठमाडौं प्रहरीमा दिएको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट वैशाख ३१ गते पक्राउ पुर्जी जारी भएको थियो। उनलाई प्रहरीले खोजिरहेको थियो।
र, यो पनि: बझाङकी रश्मिला कुमारीले किन गरिन् अदालतबाहिर आत्मदाह प्रयास ?