कैलाली: नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको २०८१ पुष ५ गतेदेखि सुदूरपश्चिमको भ्रमण तय भएको छ। कोइरालाको निजी सचिवालयले जनाएको अनुसार भ्रमण अवधिभर उनले धनगढीमा नौ आटै जिल्लाका कार्यकर्तासँग भेटघाट तथा पार्टीका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने तालिका रहेको छ।
सचिवालयले जनाए अनुसार, डा. कोइरालाले पुष ५ गते शुक्रबार धनगढीमा सुदूरपश्चिमका नौ आटै जिल्लाका नेता तथा कार्यकर्तालाई भेटघाट तथा अन्तरक्रिया गरिने कार्यक्रम रहेको छ। उनले हरेक जिल्लाका नेता तथा कार्यकर्तालाई फरक फरक समयमा भेट्ने र जिल्लागत विभिन्न विषयमा छलफल हुनेछ। शुक्रबार उनी दिनभर भेटघाटमै ब्यस्त रहने तालिका रहेको छ।
पुष ६ गते भातृ तथा शुभेच्छुक संस्थाहरुसँगको भेटघाट रहेका छ । सोही दिन दिउँसो डा. कोइरालाले नेपाल प्रजातान्त्रिक सेनानी संघ, सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशनको उद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
डा. शेखर कोइरालासँगै नेपाली कांगे्रसका नेता हृदयराम थानी, डा. गोबिन्दराज पोखरेल, सुनिल शर्मा लगायतका नेताहरुले प्रदेश अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवाको गृह प्रदेशमा हुने डा. शेखर कोइरालाको यो भ्रमणलाई पार्टी भित्र र बाहिर निकै चासोको साथ हेरिएको छ।