धनगढी: कैलालीको गौरीगंगा नगरपालिका–८ लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक धनीदत्त भट्टलाई छात्रामाथि यौनजन्य हिंसाको आरोपमा विद्यालय व्यवस्थापन समितिले पदबाट हटाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेलाराम टेर्राका अनुसार एक छात्राले भट्टविरुद्ध यौन हिंसासम्बन्धी उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा समितिले निर्णय गर्दै भट्टलाई पदमुक्त गरेको टेर्राले बताए। साथै, नगरपालिकालाई समेत घटनाबारे जानकारी गराइसकेको उनले उल्लेख गरे।
विद्यालय प्रशासनको प्रारम्भिक अनुसन्धानपछि भट्टले छात्राहरू बोलाएर माफी माग्दै खुट्टा ढोगेको टेर्राले बताए। अहिले भने विद्यालय व्यवस्थापन समितिले तत्काललाई दीपेन्द्रकुमार खड्कालाई कामचलाउ प्रधानाध्यापकको जिम्मेवारी दिएको छ। समितिले स्थायी रूपमा जयबहादुर बयलकोटीलाई प्रधानाध्यापक बनाउने तयारी गरे पनि बयलकोटी स्वयंले खड्कालाई सिफारिस गरेपछि उनलाई जिम्मेवारी दिइएको टेर्राले जानकारी दिए।
यौन हिंसासम्बन्धी उजुरी दिने छात्राले पछि उजुरी फिर्ता लिएको र घटनामा मिलापत्र गरिएको विद्यालय स्रोतले जनाएको छ। विद्यालय व्यवस्थापन समिति, इलाका प्रहरी कार्यालय मसुरिया तथा लम्कीमा उजुरी दिएकी छात्राले कानुनी प्रक्रिया अघि नबढाउने निर्णय गरेकी हुन्।
यस विषयमा प्रतिक्रिया दिँदै भट्टले आफ्ना विरुद्ध राजनीतिक चलखेल भएको दाबी गरेका छन्। उनले भने, “छात्राले घुम्न जाउँ भनेपछि हामी गएका थियौं। मैले कसैलाई जबरजस्ती लगेको होइन। ममाथि लागेको आरोप कपोलकल्पित हो।”
यद्यपि, विद्यालय व्यवस्थापन समितिले भने भट्टलाई माफी नदिने स्पष्ट पारेको छ। घटनाबारे नगरपालिकाले थप निर्णय लिने बताइएको छ।
गौरीगंगा नगरपालिका–८ लिक्माको जनप्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक भट्टले आफ्नो जन्मदिन मनाउने बहानामा विद्यार्थीलाई चिसापानी लगेर गएका थिए। चौधरी थरकी एक छात्रालाई उनले त्यहाँ लगेर यौन प्रस्ताव राखेका थिए। त्यसपछि घटना घटेको हो। यो घटना फागुन २ गतेको भएपनि सो विषयमा एक छात्राले फागुन १० गते मात्र विद्यालय व्यवस्थापन समितिमा कारबाहीका लागि निवेदन दिएकी थिइन्।
