धनगढी: नेपाल पत्रकार महासंघ कैलालीमा प्रहरीका घुमुवाहरुको बेथिति समेटेर उजुरी परेको छ। प्रहरीको कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका कमान्डर अथात् प्रमुख फेरिलगत्तै उजुरी परेको हो।
उसो त यस अगाडि पनि यस्ता उजुरी पर्दै आएका हुन्। हालै कैलालीमा एसपी बालनर सिंह राणा आएका छन् भने नयाँ डीआईजीको रुपमा डम्बर बिक आएका छन्।
प्रहरीले अपराध अनुसन्धान र सूचना संकलनका लागि खटाइएका घुमुवा अथात् सादा पोशाकका प्रहरीविरुद्ध पर्ने उजुरीमा विभिन्न खालका आक्षेप लगाउँदै कारवाहीको माग गरिदै आएको देखिन्छ। हालै नेपाल पत्रकार महासंघ कैलालीमा तस्करी गराउने र गर्नेलाई कारवाही होस् भन्दै फेरि उजुरी परेको छ। राम सिंहको नामबाट पठाइएको उक्त पत्रमा सादा पोशाक (घुमुवा) प्रहरीसहित सुरक्षाकर्मीहरूमाथि संगठित तस्करीमा संलग्न भएको आरोप लगाएको छ।
उजुरीमा प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न सुराकी टोलीहरूले सेटिङ’ मिलाएर भारतबाट चिनी, मल, गन्ना लगायतका सामग्री रातारात भित्र्याउने र सोको सट्टामा मासिक लाखौं रुपैयाँ असुली गर्दै आएको दाबी गरिएको छ।
उजुरी अनुसार जिल्लाको टिकापुर, भजनी, हँसुलिया, फूलबारी, जुगेडा, नल्का घाट, डोकेबजार, त्रिभुवन बस्ती, बेलौरी र भुडा लगायतका सीमावर्ती नाकाहरू तस्करीका मुख्य मार्गका रूपमा प्रयोग भइरहेका छन्। ती नाकाहरूबाट दैनिक राती लाखौं रुपैयाँ बराबरको सामान पार गराइने गरेको आरोप छ।
उजुरीमा सादा पोशाकमा खटिएका प्रहरी र सुराकी ब्यूरो इन्चार्ज, सिभिल इन्चार्ज तथा टाइगर टोलीले हाकिमलाई गुमराहमा राख्दै तस्करीको मार्ग खुला बनाएको, साथै संलग्न व्यापारीहरूसँग मिलेर नियमित रकम असुल गर्ने गरेको उल्लेख छ।
उजुरीकर्ताले यस मामिलामा संघीय सरकार, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै सम्पूर्ण संलग्न पक्षको तत्काल छानबिनको माग गरेका छन्।
तर, कैलालीमा प्राय:जसो प्रहरी प्रमुख परिवर्तन भएर नयाँ आउने बेला महासंघमा उजुरी हाल्ने गरेको पाइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले महासंघमा बेनामी उजुरी परेको विषयमा जानकारी नभएको बताए।
तर, लिखित वा मौखिक रुपमा जिल्लामा उजुरी परेको अवस्थामा सम्बन्धीत प्रहरीमाथि छानविन गर्ने, छानविनबाट आरोप पुष्टि हुने अवस्थामा प्रहरी ऐन नियमावलीअनुसार कारवाही गर्ने उनी बताउँछन्।