धनगढी: सुदूरपश्चिमका विभिन्न जिल्ला प्रहरी कार्यालय एवं युनिटबाट सादा पोसाकमा खटिने ‘घुमुवा प्रहरी’ विरुद्ध धमाधम उजुरी परेका छन्। विशेषगरी जिल्ला प्रहरी कार्यालय कैलाली, प्रदेश प्रहरी कार्यालय लगायत मातहत युनिटमा खटिने घुमुवाले आचरणविपरीत कार्य गरेको लगायत आर्थिक पाटोको विषयवस्तु समेटेर घुमुवा इन्चार्जसहितका कर्मचारीविरुद्ध उजुरी परेका हुन्।
विभिन्न अडियो, भिडिओ लगायतका सामग्री समावेश गरेर घुमुवा प्रहरीविरुद्ध उजुरीहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा प्रहरी प्रधान कार्यालय नक्सालसम्मै उजुरीहरु परेको स्रोतले जानकारी दिएको छ। स्रोतले दिएको जानकारी अनुसार त्यसको छानबिन पनि थालिएको छ।
यता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी डम्बर बिश्वकर्माले पनि सो किसिमका कार्य गैरकानुनी भएको भन्दै छानबिन गर्दै कारबाही गरिने बताए। यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकै प्रवक्ता एवं एसएसपी प्रकाश मल्लले पनि उजुरी तथा गुनासोको विषयमा प्रदेश प्रहरी कार्यालयले बेलाबखत छानबिन गरिरहेको बताउँदै अहिले पनि केही प्रहरीमाथि निगरानी रहेको जनाए।
यसैक्रममा जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा प्रहरीको नयाँ नेतृत्व आएसँगै घुमुवा प्रहरीको नेतृत्व फेरबदलबारे पनि चर्चा थालिएको छ।
असईदेखि वरिष्ठ सईसम्मका प्रहरी कर्मचारीहरू घुमुवा युनिटको नेतृत्व हत्याउन लागिपरेको चर्चा चलेको हो। उसो त सादा पोसाकमा खटिएका प्रहरीहरु बेलाबेला विवादमा पनि तानिने गरेका छन्।
अघिल्लो आईजीपी वसन्त बहादुर कुँवरका पालामा घुमुवाकै कारण विवाद हुन थालेपछि हेडक्वार्टरले घुमुवा प्रहरी नराख्न सर्कुलर नै जारी गरेको थियो। तर उक्त सर्कुलर कार्यान्वयन भएको छैन।
अहिले पनि, घुमुवा प्रहरी आर्थिक लेनदेनमा लागेको, सिमानाका प्रहरीहरुले तस्करसँग मिलेर लाखौँ असुली गरिरहेको बताइन्छ।