काठमाडौं: नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गर्न भन्दै पत्र लेख्न सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
विष्टले अनधिकृत रूपमा पत्र लेख्दै रेशमलाई पक्राउ गरेर डिल्लीबजार कारागार चलान गर्न भनेका थिए। त्यसपछि उक्त पत्र लिएर उनी आफैं जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए।
उनीविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो। विष्टको पुर्ख्यौली घर दार्चुला हुती हो। उच्च शिक्षा अध्ययनपछि उनी महेन्द्रनगर झरेका थिए। र, कानुनी क्षेत्रमा हात हालेका थिए।
विष्ट कञ्चनपुर जिल्ला अदालतमा काम गर्थे। त्यतिबेला पनि वकिलसँग ठूलै विवाद परेको उनलाई चिन्ने, जान्नेहरू बताउँछन्।
कञ्चनपुरछि उनी सरूवा भएर सर्वोच्च अदालत आएका थिए। अहिले उनी भक्तपुर बस्दै आएका छन्। उनको परिवारका अरू सदस्य पनि कानुनी क्षेत्रमा छन्।
त्यसो त उनको राजनीतिक टिप्पणी पनि बेलाबखत चर्चामा आउँथ्यो।
उनले २०७८ साउन ७ गते तत्काली प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गरेर स्ट्याटस लेखेका थिए। त्यतिबेला एमालेभित्र विवाद उत्कर्षमा थियो।
‘केपी ओली सर त नयाँ महाराजधिराज भए कि क्याहो? स्पष्टीकरण पनि आफै सोध्ने, आममाफी पनि आफै जुनसुकै बेला दिने, पार्टीको विधान कता छ कुन्नि! पार्टी घोषणापत्रसँग पो अल्मलियो कि? यो त केपी सरको गोप्य श्री ५ को जस्तो हुकुम भयो नि!,’ एमालेको तत्कालीन विवादमा उनले टिप्पणी गरेका थिए।
उनको हस्ताक्षरको पत्र अनधिकृत भएको खुलेपछि सर्वोच्च अदालतमा बबण्डर नै मच्चिएको थियो। सर्वोच्च अदालतले उनलाई केरकार गर्दै प्रहरीमा बुझाएको छ। प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ।
प्रारम्भिक छानबिनका क्रममा अदालतसँग उनले आफूले पत्र लेखेको स्वीकार गरेका थिए।
टीकापुर घटनाले साह्रै पीडा दिएकाले आफूले पत्र लेखेकाे उनले बताएका छन्। २०७२ भदौ ७ गते टीकापुरमा थरूहट, थरूवान संयुक्त संघर्ष समितिले गरेको हिंसात्मक प्रदर्शनमा एकजना बालकसहित ८ जना सुरक्षाकर्मी मारिएका थिए।
रेशम सोही घटनामा मुख्य दोषी ठहर भई जन्मकैदको सजाय पाएका थिए। उनी २०८० जेठ १५ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर रिहा भएका थिए।
‘टीकापुरको घटनाले साह्रै पीडा भयो, त्यसैले पत्र लेखेको हुँ,’ पक्राउ परेका विष्टले बताएका थिए।
विष्टले आजै बिहान पत्र लेखेका थिए। त्यसपछि पत्र बुझाउन पनि प्रहरी कार्यालय र डिल्लीबजार कारागारसमेत आफै पुगेका थिए।