काठमाडौं: नेपाली काँग्रेसले रिक्त गभर्नरमा नियुक्तिका लागि नयाँ नाम अघि सारेको छ। यसअघिका सुदूरपश्चिमका बासिन्दा डा. गुणाकर भट्टको सट्टा डा. विश्व पौडेललाई गभर्नर बनाउन देउवा निवासले बालुवाटारलाई अनौपचारिक आग्रह गरिसकेको बताइन्छ।
कायममुकायम गभर्नर निलम ढुङ्गाना तिम्सिनाले कार्यकारी निर्देशक भट्टको राजीनामा तीन सातासम्म स्वीकृत नगरेर अड्काएपछि काँग्रेसभित्रको ‘स्वार्थ समूह’ ले हिजोदेखि पौडेलको नाम अघि सार्न थालेको हो। हाल गभर्नर उम्मेदवार सिफारिस समितिमा सदस्य रहेका पौडेल योजना आयोगका पूर्व उपाध्यक्ष हुन्।
तर, उनी नेपाली काँग्रेस महासमिति सदस्य पनि छन्। गत आमनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट काँग्रेस उम्मेदवार रहेका पौडेल रास्वपाका हरि ढकालबाट पराजित भएका थिए।
उनी परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाको महँगो स्कूल युलेन्समा सन् २०१९ देखि २०२१ सम्म ट्रस्टी थिए। विज्ञताको हिसाबले उनले अर्थशास्त्र र अर्थशास्त्रीहरुको इतिहासमा पिएचडी गरेको बताइन्छ। जबकि गभर्नरको निम्ति सबैभन्दा योग्य मौद्रिक अर्थशास्त्री हुनुलाई राम्रो मानिन्छ। हिजो दिउँसो भट्टको विकल्पमा पौडेलको नाम अगाडि आएपछि नेपाल राष्ट्र बैंकबाट अवकाशप्राप्त कतिपय कार्यकारी निर्देशक र कर्मचारीले गभर्नरको निम्ति उनी अयोग्य रहेको संकेत दिएका छन्।
उसो त प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउन तीन साताअघि समझदारी भएको थियो। यही वैशाख ३ मा भएको उक्त समझदारीका आधारमा भट्टले वैशाख ५ मा कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। तर, राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि सभापति देउवाले विकल्पमा पौडेलको नाम प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ। दुई दलीय भागबन्डामा गभर्नर कांग्रेसले लिने समझदारी भएको थियो।
प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणालगायत नेता बालुवाटारको बैठकमा सहभागी थिए।
यसबीच भट्टलाई पाखा लगाएर अहिले काँग्रेसले नै पौडेलको नाम प्रस्ताव गरेको चर्चापछि सुदूरपश्चिममा सत्तारुढ दलको आलोचना बढ्न थालेको छ। त्यसमा पनि नेपाली काँग्रेस र सभापति देउवाको विरोध बढी हुन थालेको छ।
यतिमात्र होइन, माओवादीबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य रहेका ओमविक्रम भाट सरलले पनि देउवा दम्पतीले सुदूरपश्चिमलाई नै धोका दिएको बताएका छन्। ‘सुदूरपश्चिमले देउवालाई पाँच–पाँच पटक प्रधानमन्त्री बनायो, छैटौं पटकको पर्खाइमा छन्,’ उनले भनेका छन्, ‘तर अन्ततः देउवा दम्पतीले सुदूरपश्चिमलाई नै धोका दिदैछन्। गभर्नरमा यति सारो झेल र खेलोमेलो द्रब्यकै लागि हो त ?’ कार्यकारी निर्देशकको घर सुदूरपश्चिमको डोटी हो।