धनगढी: सुदूरपश्चिमको भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर स्वागत गरिएको छ। नेता कोइरालालाई आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरूप १५ किलोको माला लगाइएको हो। नेता कोइरालालाई धनगढी विमानस्थलमा बाजागाजा सहित भव्य स्वागत गरिएको थियो।
नेता कोइरालालाई धनगढी विमानस्थलमा डडेलधुराका नेता युवराज पाण्डे सहितका डडेल्धुरा कांग्रेसको तर्फबाट १५ किलोको माला लगाएको हो।
स्वागतका लागि धनगढी विमानस्थलमा भेला भएका पार्टी कार्यकर्ताले भावी सभापति शेखर कोइराला जिन्दाबाद, सुदूरपश्चिमले के भन्छ , १५ औँ महाधिवेशनमा शेखर कोइराला ल्या भन्छ जस्ता कोइरालाको पक्षमा चर्को नारा लगाएका थिए।
साथै, स्वागतका लागि थारु संस्कृति झल्कने पहिरन सहित नृत्य गरिएको थियो। स्वागत गर्ने क्रममा सुदूरपश्चिमको हुड्केली नाच पनि प्रदर्शन गरिएको थियो। पार्टी सभापति शेरबहादुर देउवाको गृहप्रदेशसमेत रहेको सुदूरपश्चिममा कोइराला नेता तथा कार्यकर्ता भेटघाटमा व्यस्त देखिन्छन्।