धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम सवार गाडी दुर्घटना भएको छ। राज्यमन्त्री बम सवार गाडी आज साँझ भारतको पलिया बजार नजिक दुर्घटनामा परेको हो।
भारतको पलियाबाट धनगढी फर्किने क्रममा उनी सवार गाडी अर्को गाडीमा ठोकिँएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टका अनुसार बमकी पत्नी कल्पन बम, नेपाल प्रहरीका एसएसपी दिलिपसिंह देउवाकी पत्नी र मन्त्रीका सहयोगी पदम बम सवार गाडी भारतको पलियाबाट फर्किने क्रममा दुधुवा टाइगर रिजर्भ क्षेत्रमा अर्को गाडीमा ठोक्किएको हो।
दुर्घटनामा उनीहरू घाइते भएको बताइएको छ। उनीहरुको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार जारी छ। मन्त्री बमले भारत पस्दा सरकारबाट अनुमती लिनुपर्ने भएपनी नलिइ गएको बुझिएको छ।
देशबाहिर जाने क्रममा उनले परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्नेमा नलिइ गएको बताइएको हो। भारतको खिरी जिल्लास्थित पलिया बजारमा दुर्घटना हुनुअघि उनीहरूले किनमेल पनि गरेका थिए।