काठमाडौं: नेपाल प्रहरीका पदोन्नति भएका ७ जना अधिकृतलाई प्रहरी महानिरीक्षक (आइजीपी) बसन्त कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ पुस ५ गतेको निर्णय अनुसार २ जना प्रहरी नायव महानिरीक्षक (डीआइजी) हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा र गृह मन्त्रालय (सचिवस्तर) को निर्णय अनुसार ५ जना प्राविधिक प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूलाई प्राविधिक प्रहरी उपरीक्षक (एसपी) पदमा पदोन्नति गरिएको थियो।
त्यसपछि आज एआईजीद्वय भरतबहादुर बोहरा र दुर्गा सिंह चन्दलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। सो कार्यक्रममा आइजीपी कुँवरले पदोन्नति प्राप्त गरेका अधिकारीहरूको भूमिकालाई उच्च प्रशंसा गर्दै आगामी दिनमा उनीहरूले थप जिम्मेवारीका साथ काम गर्न निर्देशन दिए।
यस्तै आइजीपी कुँवरले पदोन्नतिलाई जिम्मेवारीको प्रतीक भन्दै यो अवसरले संगठनलाई थप सक्षम र जिम्मेवार बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे।
पदोन्नति प्राप्त गरेका अधिकारीहरूलाई प्रदान गरिएको दर्ज्यानी चिन्हले उनीहरूको योगदानको सम्मान गरेको छ भने संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।