धनगढी: कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयले आठ वर्ष पहिले जडान गरेको एक्स-रे मेसिन प्रयोगविहीन भएको छ। विसं २०७४ मा भन्सार कार्यालयले भारतबाट आउने यात्रुले ल्याएका झोला तथा सामग्री जाँच गर्न जडान गरेको उक्त मेसिन प्रयोगमा नल्याइदै थन्किएको हो।
कञ्चनपुर भन्सार कार्यालयका सूचना अधिकारी चक्रदेव भट्टले मेसिनको सफ्टवेयरमा खराबी आउँदा मेसिन बन्द भएको बताए। एक करोड रुपैयाँको लागतमा भन्सार विभागले खरिद गरी कञ्चनपुर भन्सार कार्यालयमा उक्त मेसिन जडान गरिएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहेकका भन्सारमध्ये पहिलो पटक जडान भएको मेसिन सञ्चालनमा ल्याउन भन्सार कार्यालयकै बेवास्ता देखिएको छ।
भन्सार कार्यालयको चेकपोस्टमा राखिएको एक्स-रे मेसिन लामो समयदेखि प्रयोग नहुँदा जीर्ण बन्दै जानुका साथै नाकामा यात्रुले अनावश्यक सास्ती खेप्नु परेको छ।
Facebook Comments Box