काठमाडौं: हनि ट्रयाप प्रकरणमा मुछिएकी नेपाल प्रहरीकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीविरुद्धको मुद्दामा हिजो सोमबार थुनछेक आदेश आयो। तर स्रोतका अनुसार शाहीको परिवार आदेश आउनु अगाडि नै पैसाको झोला बोकेर अदालतमा पुगेको थियो।
जबकी त्यसपछिमात्र ललितपुर जिल्ला अदालतले थुनछेक बहसपछि ५ लाख धरौटी माग गर्दै शाहीलाई तारेखमा राख्ने आदेश गरेको थियो। अस्ति आइतबारनात्रै फरार रहेकी शाही अदालतमा उपस्थित भएकी थिइन्। त्यसपछि उनलाई एक रात थुनामा राखिएकोमा दोस्रो दिन थुनछेक बहसपछि धरौटी माग गरिएको थियो।
न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले शाहीलाई ५ लाख रुपैयाँ धरौटी लिएर तारेखमा राख्ने आदेश दिएको हो। शाहीले अदालतलाई समेत प्रभावमा पार्न चलखेक गरेको आरोप लागेको बताइन्छ।
भैंसेपाटी प्रभागकी तत्कालिन प्रमुख शाहीमाथि प्रहरी हिरासतमा रहेका आरोपितलाई बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर ३० लाख रुपैयाँ असुलेको आरोप छ। उक्त आरोपमा उनीसहित ६ जनाविरुद्ध गत मंसिर ९ गते जिल्ला अदालत ललितपुरमा संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो।
यस अगाडि शाहीले पक्राउ पूर्जी जारी भैसकेको अवस्थामा सारा शक्ति लगाएर पक्राउ रोकाएकी थिइन्। उनलाई गृहमन्त्रीले नै संरक्षण दिएकोमा अहिले फेरि अदालतमा सेटिङ गरेको आरोप लागेको हो।
गत ७ असोजमा उनले एक व्यापारीलाई पक्राउ गरी बलात्कार मुद्दामा फसाइदिने रकम असुलेकी थिइन्।
घटना बाहिरिएपछि निलम्बनमा परेकी उनलाई प्रहरीले फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। छानविन समितिमा समेत बयान दिन नगएकी उनी अन्ततः अदालत पुगेकी थिइन्।
यसअघि इन्सपेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाउँदै आपरापधिक लाभ र संगठित अपराधको कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। १३ मंसिरमा न्यायाधीश टेकराज जोशीको इजलासले घटनाको मुख्य योजनाकार ताज इस्लामलाई थुनामा पठाउने आदेश गरेको थियो।
त्यसैगरी अर्का प्रतिवादी भीमादेवीलाई २ लाख र सुस्मा विकलाई जनही क्रमशः २ लाख र १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। अर्का प्रतिवादी प्रहरी सहायक हवल्दार महेन्द्र हमालले भने साधारण तारेखमा छाड्ने आदेश भएको थियो।
घटनामा प्रतिवादी बनाइएका प्रहरी प्रभाग भैंसेपाटीका तत्कालीन इन्सपेक्टर शाही र सुनसरीका दर्शन पोखरेल भने फरार थिए। करिब एक महिनापछि शाही भने अदालतमा आफैं उपस्थित भएकी हुन्।
र, यो पनि: निलम्बित इन्स्पेक्टरसँग ५ लाख धरौटी मागियो, तारेखमा बसिन्