धनगढी: नेकपा माओवादी केन्द्रले कञ्चनपुरको पुनर्वासमा भ्रष्टाचार र बेथितीविरुद्ध खबरदारी सभाको आयोजना गर्ने भएको छ।
माओवादी केन्द्रले १३ पुसमा पुनर्वासको टाउन बजारमा सरकारको भ्रष्टाचार र बेथितीविरुद्ध भन्दै खबरदारी सभा गर्न लागेको हो। माओवादी केन्द्रले बिहीबार पत्रकार सम्मेलन गर्दै खबरदारी सभाबारे जानकारी दिएको छ।
सभालाई पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने उपमहासचिव एवंम् सुदूरपश्चिम इन्चार्ज गिरीराजमणी पोखरेलले जानकारी दिए।
पोखरेलले खबरदारी सभामार्फत नेपाली कांग्रेस र नेकपा एमालेले दुई दलीय गठबन्धन गर्दै गठन गरेको सरकारले गरिरहेका भ्रष्टाचार र बेथितीको भण्डाफोर गरिने बताए । सरकारले अहिले सरकार बाहिर रहेका राजनीतिक दलमा आवद्ध व्यक्तिहरुलाई छानीछानी षड्यन्त्रपूर्वक विभिन्न खालका चलाइरहेको तर सत्तापक्षका गलत कर्तुत ढाकछोप गर्ने प्रयास भइरहेको आरोप उनले लगाएका छन्।
माओवादी केन्द्रको जिल्ला समन्वय समिति कञ्चनपुरले आयोजना गर्ने सभालाई पार्टी अध्यक्ष दाहालसहितका नेताले सम्बोधन गर्ने कार्यतालिका रहेको छ। माओवादीले शक्ति प्रर्दशनका रुपमा समेत लिएको उक्त सभामा २० हजार भन्दा बढि मानिस उर्ताने दाबी गरेको छ।