धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले रिक्त हुनै लागेका र रिक्त राजनीतिक नियुक्तिका लागि तयारी थालेको छ। हाल रिक्त रहेका पद तथा रिक्त हुन लागेका पदमा पूर्तीको लागि सत्ता साझेदार दल, दल नेता तथा मुख्यमन्त्री एवं मन्त्रीहरुबीच तयारी थालिएको हो।
केही समयमै प्रदेशको खेलकुद परिषद्, युवा परिषद् लगायतमा नियुक्तिको लागि पद रिक्त हुन लागेको छ। प्रदेश सरकारले जिल्ला खेलकुद विकास समिति, प्रदेश नीति तथा योजना आयोग, प्रदेश लोकसेवा आयोग, मुख्य न्यायाधिवक्ता, चार वटा पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समिति, प्रादेशिक अस्पतालहरु, जिल्ला अस्पताल, जिल्लास्तरीय अस्पताल र आयुर्वेद चिकित्सालयको व्यवस्थापन समिति लगायतमा राजनीतिक नियुक्ति गर्दै आएको छ।
यीमध्ये केही पद रिक्त भइसकेका छन् भने अधिकांश पदाधिकारीको कार्यकाल यसै वर्ष सकिदै छ। स्रोतका अनुसार जिल्ला तथा प्रादेशिक अस्पतालको सवालमा डोटीबाहेक प्रदेश मातहतका सबै अस्पताल व्यवस्थापन समितिमा नियुक्त अध्यक्ष र सदस्यको पदावधि आगामी फागुनमा सकिदैछ। ती पदहरुमा भागबन्डा गर्ने सरकारवादी दलहरुको तयारी छ।
अस्पताल व्यवस्थापन समितिमा अध्यक्ष र सदस्य नियुक्तिका लागि सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमाले भागवण्डा गर्ने तयारीमा लागेका हुन्। प्रदेशका दुई प्रादेशिक अस्पतालमध्ये सेतीमा काँग्रेस र महाकालीमा एमालेले अध्यक्ष पाउने सम्भावना छ।
यस्तै, प्रदेश नीति तथा योजना आयोगमा उपाध्यक्ष पनि नियुक्त गर्ने तयारी छ। एकीकृत समाजवादीका दीर्घ सोडारी नेतृत्वको सरकार ढलेसँगै आयोगका उपाध्यक्ष गणेशबहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका थिए। तर उनको राजीनामा स्विकृत भइसकेको छैन। आयोगमा पनि नयाँ उपाध्यक्ष नियुक्तिको तयारी छ।
भागवण्डामा आयोगको उपाध्यक्षमा काँग्रेसले दावी गरेको छ। त्यस्तै खेलकुद परिषद्मा सदस्य सचिव रहेका दीपकबहादुर सिंहको स्थानमा पनि काँग्रेस र एमालेकै दावी छ।
प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरको स्थानमा भने नेकपा एमालेको दावी छ। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको सिफारिस गर्ने पदहरुमा पनि एमाले तथा काङ्ग्रेसकै दाबी छ।
सो विषयमा सत्ता गठबन्धनबीच सहमति गरेर नियुक्ति दिने तयारी थालिएको हो।