धनगढी: अछाममा मरेको कुखुराको मासु खाएका एक किशोरको मृत्यु भएको छ। जिल्लाको कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल बिकको मृत्यु भएको हो।
‘शुक्रबार राति मरेको कुखुराको मासु खाएर बिरामी भएका बिकको आइतबार घरमै मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले भने, ‘चिकित्सकले प्रारम्भिक जाँचमा फूड प्वाइजनिङ भएको बताउनुभएको छ। पोष्टमार्टमका लागि शव जिल्ला अस्पतालमा राखेका छौं।’
डीएसपी भण्डारीका अनुसार सोही कुखुराको मासु खाएर अन्य तीन जना बिरामी परेका छन्। मृतककी हजुरआमा ७० वर्षीय नाम बिक, १४ वर्षीय बहिनी सीता बिक र ९ वर्षीय भाई विकास बिक बिरामी भएका छन्। उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको डीएसपी भण्डारीले बताए। मरेको कुखुराको मासु खाएपछि बिक परिवारका सदस्यमा पेट दुःख्ने, बान्ता गर्ने लगायतकासमस्या देखिएको थियो।
‘कुखुरा मरेपछि मासु पसल सञ्चालक टंक कुँवरले फाल्न लाग्दा बिक परिवारले लगेर खाएका रहेछन्,’ डीएसपी भण्डारीले भने, ‘अर्को मरेको कुखुरा खाएका बिककै छिमेकीहरुलाई भने केही भएको छैन। हामी मासु पसल सञ्चालकमाथि पनि अनुसन्धान गर्छाैं।’
मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मंगलसेन अछाममा ल्याइएको प्रहरीले जनाएको छ।