दार्चुला: सोमबार राति दार्चुलाको ब्यास गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा पर्दा चालक गम्भीर घाइते भएका छन्। ब्यास गाउँपालिका–३ गल्था नजिक सुदूरपश्चिम प्रदेश ०१००१ च ३८३० नम्बरको एम्बुलेन्स तिंकर सडकबाट करिब १५० मिटर तल खसेको थियो।
जिल्ला प्रहरी कार्यालयका अनुसार चालक बिरा डडाललाई गम्भीर चोट लागेको छ। घाइते डडाललाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल दार्चुला पुर्याइए पनि अवस्था गम्भीर भएपछि भारतको पिथौरागढ रिफर गरिएको ब्यास गाउँपालिकाले जानकारी दिएको छ।
एम्बुलेन्स गाउँपालिकाको केन्द्र सुन्सेराबाट गल्था फर्किने क्रममा दुर्घटनामा परेको हो। घटनाको थप विवरण आउन बाँकी छ।
यस्तै बझाङमा जयपृथ्वी नगरपालिका–१०, खेइराकी १२ वर्षीया नविना कुँवर जिपको ठक्करबाट घाइते भएकी छन्। विद्यालयबाट घर फर्किरहेकी कुँवरलाई सुदूरपश्चिम प्रदेश २—०२००१ च ०४६२ नम्बरको जिपले दिउँसो २ बजेतिर बसपार्क नजिक ठक्कर दिएको हो।
घाइते बालिकाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ। जिपका चालक थलारा गाउँपालिकाका ३२ वर्षीय कमल थापा भने घटनापछि फरार भएका छन्।
प्रहरीले जिपलाई नियन्त्रणमा लिएको छ भने प्रहरी निरीक्षक जयबहादुर डाँगीको नेतृत्वमा फरार चालकको खोजी कार्य जारी रहेको छ।