धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ बस्ने ३५ वर्षीय महेशसिंह खत्री र ३३ वर्षीय धुर्व जोशीलाई १६ वर्षीया किशोरी अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीका अनुसार दुबै व्यक्तिले पुस १३ गते राति भीमदत्त नगरपालिका–६ स्थित शिव मन्दिर नजिक नहरमा साथीसँग हिँडिरहेकी ती किशोरीलाई “हामी प्रहरी हौं” भन्दै लगेको बताइएको छ।
डीएसपी जोशीले भने, “सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले १४ गते बिहान वडा नम्बर १६ वसन्तपुरबाट पीडित किशोरीको उद्दार गरेको हो।”
अपहरण र शरीर बन्धकसम्बन्धी कसुरअन्तर्गत दुबै जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस घटनाले किशोरीको सुरक्षासम्बन्धी चासो बढाएको छ भने स्थानीय प्रशासनले यस्ता घटनाको नियन्त्रणका लागि थप सतर्कता अपनाउने बताएको छ।