काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद् बैठक बालुवाटारमा बसेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार साँझ आकस्मिकरुपमा बैठक डाकेका हुन्।
बैठकले सशस्त्र प्रहरी बल नेपालबाट पदावधि पूरा गरेर आजदेखि घर जान लागेका चार जना डिआइजीको म्याद थप्न लागिएको छ। डीआईजीहरु कमल गिरी, गणेश ठाडामगर,कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको आज साँझ बसेको क्याबिनेट बैठकले म्याद थप्ने तयारी छ।
कमल गिरी सशस्त्र प्रहरी बल प्रशिक्षण प्रमुखका रूपमा कार्यरत छन् भने गणेश ठाडामगर नम्बर ३ बाहिनी (बागमती) प्रमुख, कुलबहादुर नेम्बाङ नम्बर ४ बाहिनी (गण्डकी) प्रमुख, र शम्भु सुवेदी नम्बर १ बाहिनी (कोशी) प्रमुखको जिम्मेवारीमा छन्।
सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार, आइजिपीको सिफारिसमा सरकारले आवश्यक ठानेमा एक वर्षको म्याद थप गर्न सक्ने प्रावधान छ। स्रोतका अनुसार, डिआइजीहरूको म्याद थपेपछि आगामी एआइजी पदमा बढुवा र भविष्यको नेतृत्वका लागि अवसर खुल्नेछ।