काठमाडौं: चारजना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदावधि थप भएको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सिफारिस अनुसार पुस २३ गते चार वर्षे पदावधि पूरा हुन लागेका डीआईजीहरुको एक वर्ष पदावधि थप गर्ने निर्णय गरेको हो।
सोही निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार साँझ आकस्मिकरुपमा बैठक डाकेका थिए।
डीआईजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको कार्यकाल एक वर्ष लम्बिएसँगै यीनै मध्येबाट एक जनालाई आईजीपी बन्ने बाटो समेत खुल्ला भएको छ।
तीन वर्षपछि सशस्त्र प्रहरी बलको महानिरीक्षक बन्नेगरी आगामी वैशाखमा कमल गिरी र गणेश ठाडा मगरमध्ये एक जना एआईजीमा बढुवा हुनेछन्।
एआईजी चन्द्रप्रकाश गौतम वैशाखमा अनिवार्य अवकास हुनेछन्।
सशस्त्र प्रहरी नियमावलीको नियम ६५ मा सशस्त्र प्रहरी कर्मचारीहरुको अनिवार्य अवकाशसम्बन्धी व्यवस्था छ। सोही नियमको उपनियममा (१) मा आईजीपी, एआईजी र डीआईजीको कार्यकाल ४ वर्षको हुने उल्लेख छ।
तर उपनियम (२) मा सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक र सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बहाल रहेका सशस्त्र प्रहरी अधिकृतको पदावधि एक वर्ष थप गर्न सक्ने व्यवस्था छ।
थप गरिएको एक वर्षपछि त्यो भन्दा माथिल्लो तहमा बढुवा नभएमा अवकाश हुने प्रस्ट उल्लेख छ।
तर एआईजी र डीआईजीको उमेर ५६ वर्ष पुगेमा भने पदावधि बाँकी हुँदै अनिवार्य अवकाश हुनेछन्। आईजीपीको उमेर हद ५८ वर्षे छ। ३० वर्षे सेवा अवधि पूरा भएमा पनि अनिवार्य अवकाश हुने व्यवस्था छ।