काठमाडौं: पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि कमिसन खानलाई डडेलधुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका छन्।
बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले कमिसन खान मात्रै त्यस्ता योजना अघि सारिने दाबी गरे। ‘अब जिल्लाको नाम भन्यो थाहा होला फेरि अरु कसैलाई, सुन्नुहोला, शेरबहादुरजीले,’ नेपालले भने, ‘ए मेरो जिल्लामा पो आँखा गाड्नुभयो भन्नुहोला। त्यो चल्छ त्यहाँ विमानस्थल? बैतडीमा चलिरहेको छ? त्यति नजिकै विमानस्थल त्यहाँ डोटीमा छैन? के छ त्यसको हालत? भनेपछि त्यो विमानस्थल बनाउनुपर्ने किन? उदयपुरमा के आवश्यकता छ? किन बनाउनु पर्यो भने त्यहाँ ठेक्का लाग्छ, ठेक्कामा कमिसन खान पाइन्छ। सिधा त्यो कुरा बाहेक अरु केही पनि होइन। अलि जनतालाई भन्ने मौका पाइन्छ, मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ। यस्तै कुराहरुले पनि धेरै नोक्सानी भइरहेको छ।’
उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न सकेको जानकारी हुँदाहुँदै पनि विमानस्थल निर्माणका निर्णय गर्नु देशलाई नोक्सानी मात्रै हुने बताए।