धनगढी: डडेल्धुरा अस्पताल विकास समितिका पूर्वअध्यक्ष लक्ष्मण सिंह नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर भएका छन्। बिहीबार विशेष अदालतले उनलाई नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ भदौ ०८१ मा उनीमाथि मुद्दा चलाएको थियो। उनले अध्यक्ष पदमा मनोनयन गर्दा पेस गरेका शैक्षिक प्रमाणपत्रहरू नक्कली भएको दाबीसहित मुद्दा दायर भएकोमा अख्तियारको दाबी पुष्टि भएको हो।
सिंहलाई ६ महिना कैद तथा १० हजार जरिवाना हुने सजाय सुनाइएको छ। विशेषका सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। उनले इन्टरमिडियट र स्नातक तहको नक्कली प्रमाणपत्र पेस गरेको भेटिएको थियो।
यसअघि अध्यक्षमा नियुक्त भएपछि पाटन सयुक्त क्याम्पसले सिंहले स्नातक नगरेको पुष्टि गरेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको उक्त क्याम्पसले आफ्नो कलेजबाट सिंहको चारित्रिक प्रमाणपत्र जारी नरेको उल्लेख गरेको थियो। अस्पताल विकास समितिको अध्यक्ष बन्नका लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था छ।