धनगढी: कञ्चनपुरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा घुस रकमसहित पुगेका एकजना प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरिएको छ। नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध मुद्दा दायर गरिएको जनाइएको छ।
गत मंसिर २८ गते कञ्चनपुरस्थित आयोगको कार्यालयमा पुगेका उनले अनुसन्धान अधिकृतको कार्यकक्षमा पुगेर कागजातसहितको खाम दिए। अनुसन्धान अधिकृतले उक्त खाम खोल्न अह्राएपछि सापकोटले बोकेको हरियो रंगको झोलाभित्रको पहेँलो खाममा एक लाख रुपैयाँ भेटिएको हो।
त्यसपछि यो के को पैसा हो ? भनी सोधपुछ गर्दा ‘मुद्दा मिलाइदिन तपाईँको लागि स्वेच्छाले ल्याएको’ भन्ने जवाफ दिएका उनलाई लगत्तै नियन्त्रणमा लिइएको थियो। अख्तियारका अनुसार सापकोटाले अछामको मेल्लेख गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत छँदा खरिदमा अनियमितता गरेको उजुरी परेको थियो।
अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकृतले उनको बयानसमेत लिई अनुसन्धानसँगै स्थलगत अनुगमन सम्पन्न गरिसकेको अवस्थामा उनले घुस दिएर प्रभावित पार्न खोजेको अख्तियारको ठहर छ।
‘उजुरीको विस्तृत अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकृतले निज प्रतिवादीको बयानसमेत लिई अनुसन्धानका कार्य गर्दै स्थलगत अनुगमन कार्य सम्पन्न गरिसकेको अवस्थामा उक्त अनुसन्धानलाई प्रभावमा पार्न, खरिद कार्यमा भए गरेका भ्रष्टाचारजन्य वा अन्य अनियमितताका विषयमा मुद्दाको कारबाही अगाडि नबढाई अनुसन्धान टुङ्ग्याउन अनुसन्धान अधिकृतलाई मोलाहिजा गर्न तथा अनुसन्धानलाई अनिष्ट गर्ने गराउने प्रयोजनको लागि घुस–रिसवत रु.१,००,००० दिनको लागि उजुरीसँग सम्बन्धित कागजात बुझाउने बहानामा अनुसन्धान अधिकृतको कार्यकक्षमा गई उक्त घुस–रिसवत रकम दिँदादिँदै उसैबखत पक्राउ परेको,’ अख्तियारको भनाई छ।
सापकोटाउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम एक लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबीसहित हिजो विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको हो।