धनगढी: कैलालीको गोदावरी नगरपालिका– ८ मा रहेको खुटिया खोलामा अवैध तथा मापदण्ड मिचेर उत्खनन गरिरहेको भन्दै चलाइएको हल्ला झुठो भएको छ। गोदावरी नगरपालिकाको टोलीले अनुगमन गर्दा सो कुरा झुठो प्रमाणीत भएको हो।
नेकपा एमाले गोदावरी नगर कमिटीले पूर्वाग्रह राखेर खोलामा आन्दोलन गरेपछि बिहीबार एमालेकै तर्फबाट निर्वाचित गोदावरी नगरपालिकाकी उपमेयर शारदा रोकाया नेतृत्वको टोलीले खोलामा अनुगमन गरेको थियो। सो टोलीले खुटिया खोला र खैराना खोलामा अनुगमन गरेको हो।
तर, अनुगमनका क्रममा मापदण्ड मिचेको नपाइएको अनुगमन टोलीकी संयोजक एवम् नगर उपप्रमुख शारदा रोकायाले बताइन्। उनले खोलामा प्राविधिक सहितको टोलीले नाप जाँच गर्दा मापदण्ड भित्रै रहेर नदीजन्य पदार्थको उत्खनन गरेको पाइएको बताइन्।
अनुगमन टोलीमा उपप्रमुख सहित प्रमुख प्रशासकीय अधिकृत हरि दत्त भट्ट, नगरपालिकाका इन्जिनियर पूर्ण कुँवर कार्यपालिका सदस्य चन्द्रा भूल, धनी कामी लगायतको सहभागिता रहेको थियो।
उता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टले पनि मापदण्ड अनुसार नै उत्खनन भएको पाइएको बताए। ‘आइइई मापदण्ड अनुसार ९० देखि १२० सेन्टिमिटर सम्म गहिरो खन्न पाउने हुन्छ’ उनले भने ‘अनुगमनका क्रममा हामीले त्यो भित्रै रहेर उत्खनन गरेको भेटायौ। सङ्कलन केन्द्रमा २ वटा मात्रै इक्साभेटर, जेसीबि प्रयोग गर्नुपर्ने मापदण्ड पनि कार्यान्वयन गरेको भेटियो।’ उनले १२ फुट १५ फुट गहिरो खनिएको भनेर आएको खबरमा सत्यता नभएको पाइएको बताए।
बुधवार एमाले गोदावरी नगर कमिटीको टोली खुटिया खोलामा पुगेको थियो। उक्त टोलीले पूर्वाग्रह राखेर खुटिया खोलामा दोहन भएको पाइएको बताएको थियो।