धनगढी: सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै २ लाख रुपैयाँ असुली गरिएको विषय बाहिर आएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय, महेन्द्रनगरमा कार्यरत सहायक प्रहरी हवल्दार केशवदत्त भट्टले बझाङका बिरेन्द्र धामीबाट पटक–पटक गरी उक्त रकम असुलेको आरोप छ।
बझाङको छबिस–पाथीभेरा गाउँपालिका–७ का बिरेन्द्र धामीले दीपायलबाट प्रहरी जवानमा जागिर पाउने आशामा २ लाख रुपैयाँ भट्टलाई बुझाएका थिए। धामीले २०८० चैत २७ गतेदेखि २०८१ वैशाख ९ गतेसम्म विभिन्न माध्यमबाट रकम पठाएका थिए। भारतबाट १ लाख र प्रभुमनी ट्रान्सफरबाट ५० हजार १६० रुपैयाँ पठाइएको देखिएको छ।
तर, जागिर नपाएपछि धामीले रकम फिर्ता मागेका थिए। भट्टले ३० हजार फिर्ता गरे पनि बाँकी १ लाख ७० हजार रुपैयाँ फिर्ता गरेका छैनन्। २०८१ भदौ २० गतेको मिति राखेर दिएको चेक पनि हालसम्म साटिएको छैन। धामीले चेक फिर्ता गर्न बैंकमा पैसा नभएको जानकारी पाएको बताए।
सहायक हवल्दार भट्टले पनि सो कुरालाई नकारेका छैनन्। उनले हिसाबकिताब भैरहेको बताउँदै १ लाख ७० हजारको चेक दिएको स्वीकारे।
यस घटनाले प्रहरी सेवामा देखिएको आचरणसम्बन्धी समस्या उजागर गरेको छ। पीडितले न्यायको माग गर्दै रकम फिर्ता गराउन अपिल गरेका छन् भने घटनाबारे थप अनुसन्धान गर्न सम्बन्धित निकायलाई दबाब परेको छ।