काठमाडौं: चितवनमा एक युवकमाथि निर्घात कुटपिट गरेका प्रहरी निरीक्षक (असई) निलम्बनमा परेका छन्। असई बुद्धिबहादुर भुजेलले युवकलाई अनावश्यक कुटपिट गरेको पाइएपछि निलम्बन गरिएको प्रहरीले जनाएको छ।
मापसे चेकिङ्गको क्रममा असई भुजलले ‘फोन गर्ने ? पावर देखाउने ? ल फोन गर.. कसलाई फोन गर्छस्’ भन्दै युवकमाथि बारम्बार लात्ति प्रहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कारबाही अगाडि बढाएको हो। पुस १५ गते राति १० बजे भरतपुर महानगरपालिका–११ तिनखोलेस्थित बाइपास रोडमा प्रहरीले युवकमाथि निर्घात कुटपिट गरेका थिए।
प्रहरी संगठनको आचारसंहितविपरित कुटपिटमा उत्रिएका असई भुजेललाई सेवाबाट निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले जानकारी दिए। उनका अनुसार डिएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाइएको छ। समितिले अनुसन्धानपछि प्रतिवेदन तयार पार्ने र सोही आधारमा भुजेलमाथि थप कारबाही अघि बढाइने एसपी मिश्रको भनाई छ।
