काठमाडौं: नेपाल प्रहरी प्रधान कार्यालयले औषधि उपचारबापतको रकम कटौती हुने सम्बन्धी सञ्चारमाध्यममा आएका समाचारलाई झुठो र भ्रामक भएको जनाएको छ। कार्यालयले प्रहरी कर्मचारीलाई त्यस्ता अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ।
प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुशिलसिंह राठौरले बजेट शाखामार्फत सबै कार्यालयलाई पत्राचार गर्दै प्रहरी कर्मचारीले पाउँदै आएको कुनै पनि सेवासुविधा कटौती नभएको र नहुने स्पष्ट पारेका छन्।
पत्रमा भनिएको छ, “औषधि उपचार बापतको रकम कटौती हुने भन्ने भ्रामक खबरमा कुनै सत्यता छैन। प्रहरी कर्मचारीले पाउने सेवासुविधामा कुनै कटौती भएको छैन र भविष्यमा पनि हुने छैन। थप सेवासुविधा प्राप्तिका लागि विशेष पहल भइरहेको छ।”
प्रहरी संगठनले अफवाहका कारण उत्पन्न भएको अन्योलता हटाउन सबै कार्यालयलाई सूचना पाटीमा जानकारी टाँस गर्न र मातहतका प्रहरी कर्मचारीलाई समेत यथार्थ जानकारी गराउन निर्देशन दिएको छ।
साथै, कार्यालयले सबै विभाग, निर्देशनालय, महाशाखा, शाखा, प्रहरी अस्पताल, काठमाडौं उपत्यका प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयहरूलाई पनि यो जानकारी गराउन आग्रह गरेको छ।
नेपाल प्रहरीका कर्मचारीले प्रहरी नियमावली, २०७९ अनुसार औषधि उपचारलगायतका सेवासुविधा प्राप्त गर्दै आइरहेका छन्। कार्यालयले अफवाहको खण्डन गर्दै प्रहरी कर्मचारीको हितका लागि निरन्तर पहल जारी राख्ने प्रतिबद्धता जनाएको छ।