दार्चुला: दार्चुलाको महाकाली नगरपालिका–५ ठड्याभिरमा सडक चौडा गर्ने क्रममा खसेको सुख्खा पहिरोले स्काइभेटर चालक गम्भीर घाइते भएका छन्। जाजरकोटको जुलीचादे गाउँपालिका–११ घर भएका चालक रेशम बुढामगरलाई पहिरोले पुरेपछि गम्भीर चोट लागेको हो।
घटनापछि उनलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारका लागि पुर्याइएको थियो। तर, थप उपचार सम्भव नभएपछि गृह मन्त्रालयको सहकार्यमा नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढीको निर्सग अस्पताल पठाइएको जिल्ला प्रशासन कार्यालय, दार्चुलाले जानकारी दिएको छ।
महाकाली लोकमार्ग अन्तर्गत खलङ्गा–गोकुलेश्वर सडक खण्डमा विगत एक महिनादेखि सडक चौडा गर्ने काम भइरहेको छ। शुक्रवार बिहान ५:१५ बजे सडक माथिबाट खसेको सुख्खा पहिरोका कारण काममा खटिएको स्काइभेटर महाकाली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए।
उद्धारका लागि तत्कालै कदम चाल्दै गृह मन्त्रालयको पहलमा हेलिकोप्टर पठाइएको थियो। हाल घाइते बुढामगरको उपचार धनगढीस्थित निर्सग अस्पतालमा भइरहेको छ।
सडक चौडा गर्ने क्रममा जोखिम व्यवस्थापनमा पर्याप्त ध्यान नदिँदा यस्ता दुर्घटना हुने गरेको भन्दै स्थानीयवासीले चासो व्यक्त गरेका छन्। यो घटनाले निर्माण कार्यमा सुरक्षा उपायहरूलाई थप कडाइ गर्नुपर्ने आवश्यकता औंल्याएको छ।