काठमाडौं: सिरियामा संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनार्थ खटिएका नेपाली सेनाका २८ सैनिक पक्राउ परेका छन्। उनीहरूलाई स्वदेश फर्केलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नियन्त्रणमा लिइ सैनिक प्रहरीमार्फत विभिन्न ब्यारेकमा थुनिएको छ।
२०७ जनाको टोली (डफ्फा) मध्ये २८ जना सैनिकलाई गत मंसिर २२ गते सिरियामा भएको हतियार लुटिएको घटनामा संलग्न देखिएको भन्दै सेनाले अनुशासन उल्लंघनको आरोपमा कोर्ट मार्शलको प्रक्रिया थालेको हो। पक्राउ पर्नेमा क्याप्टेन आर्यजुन श्रेष्ठ र प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्नेल) दिनेशकुमार खड्का पनि छन्।
सिरियास्थित हदार क्षेत्रमा रहेको ‘१० ए’ नामक सुरक्षापोष्टमा मंसिर २२ गते साँझ हायात तहरिर अल साम नामक विद्रोही समूहले आक्रमण गरी ४८ थान एम-१६ र ११ हजार गोली लुटेको थियो। सेनाको प्रारम्भिक छानबिन अनुसार उक्त समयमा खड्का नेतृत्वको गणले कुनै प्रतिकार नगरेको र हतियार सजिलै लुटिएको देखिएको छ।
उक्त पोष्टमा तैनाथ ४५ जना मध्ये हालसम्म २८ जनालाई हिरासतमा राखिएको छ। घटनापछि चैत १६ र २२ गते स्वदेश फर्केका सैनिकलाई विमानस्थलबाटै समातिएको हो। खड्का चैत २२ गते काठमाडौं ओर्ले लगत्तै नियन्त्रणमा लिइएको हो।
सैनिक स्रोतले जनाएअनुसार हतियार गुमाउनु मात्र होइन, सुरक्षा सतर्कता र जिम्मेवारीमा गम्भीर लापरबाही देखिएको निष्कर्ष निकालेपछि कडा अनुशासन कारबाही थालिएको हो। स्रोत भन्छ, “यो केवल हतियार लुटिने सामान्य घटना होइन, यसले अन्तर्राष्ट्रिय स्तरमा नेपाली सेनाको साखमा धक्का पुर्याएको छ।”