धनगढी: धनगढीस्थित सेती प्रादेशिक अस्पतालकाे तेस्रो तलाबाट हाम फालेका मृगौला पीडित ६३ वर्षीय चक्रबहादुर सिंहकाे मृत्यु भएकाे छ।
मंगलबार दिउँसो अस्पतालकाे छतबाट हाम फालेका गाेदावरी नगरपालिका-१ का सिंहकाे उपचारका क्रममा मृत्यु भएकाे प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बाेहराले सिंहकाे उपचारका क्रममा चिकित्सकले मृत घाेषणा गरेको बताए। मृगौला पीडित सिंह प्रादेशिक अस्पतालमा डायलासिस गर्दै आएका थिए।
साेमबार अस्पताल भर्ना भएका सिंहलाई चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए। उनकी श्रीमती ईश्वरीदेवी सिंह कुरूवा बसेकी थिइन्। श्रीमती निदाएका बेला सिंह छतमाथि उक्लिएका थिए।
प्रहरीले उनलाई छतमा चढेकाे देखेर वार्ड फर्किन आग्रह गरेकाे थियो तर हेर्दाहेर्दै उनले हाम फालेका थिए।
Facebook Comments Box