धनगढी: रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)को सुदूरपश्चिम प्रदेश संसदीय दलले मन्त्री चयनबारे निर्णय गर्ने अधिकार प्रदेश संसदीय दललाई प्रत्योजन गर्न केन्द्रीय समितिसँग माग गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको संसदीय दलको बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि मन्त्रीको नाम टुंग्याउने अधिकार प्रदेश संसदीय दललाई दिनुपर्ने माग गर्दै केन्द्रीय समितिमा प्रस्ताव पठाउने निर्णय गरेको हो।
संसदीय दलका नेता घनश्याम चौधरीले पार्टीको भागमा परेको मन्त्रालयमा कसलाई मन्त्री बनाउने भन्नेबारे सुझावसमेत संकलन भइरहेको जानकारी दिए। उनका अनुसार, एक साताभित्र केन्द्रीय समितिले अधिकार प्रत्योजन नगरेमा प्रदेश संसदीय दल आफैंले निर्णय गर्नेछ।
नाउपाबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका लक्ष्मणकिशोर चौधरी एक अडियो सार्वजनिक भएपछि विवादमा परेका थिए। आर्थिक लेनदेनसम्बन्धी उक्त अडियो सार्वजनिक भएपछि चौधरीले १६ चैतमा नैतिकताको आधारमा राजीनामा दिएका थिए।
त्यसयता मन्त्रालय मन्त्रीविहीन रहेको छ। हाल सो मन्त्रालय मुख्यमन्त्री कमलबहादुर शाहले आफैं सम्हालिरहेका छन्। आजको संसदीय दलको बैठकले उक्त मन्त्रालयमा कसलाई मन्त्री पठाउने भन्नेबारे निर्णय गर्ने तयारी गरेको थियो। तर सो निर्णय हुन सकेन।
नागरिक उन्मुक्तिका संसद दलका नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको बैठकमा सातमध्ये पाँच सांसद उपस्थित थिए।
बैठकमा लक्ष्मणकिशोर चौधरी र टीका थापा उपस्थित भएनन्। नीति कार्यक्रम र बजेटको चटारो भइरहेको बेला वन मन्त्रालयमा मन्त्री नहुँदा काम प्रभावित भएको छ।