कञ्चनपुर– कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा नेकपा एकीकृत समाजवादी प्यानलसहित विजयी भएको छ । पार्टीका जिल्ला अध्यक्ष जीवनराज थापाको गृहनगरमा एकीकृत समाजवादीले एक वडामा ‘क्लिन स्वीप’ गरेको हो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार शुक्रबार बिहान सार्वजनिक मतपरिणाम अनुसार पुनर्वास नगरपालिका–३ मा समाजवादीका कृष्णबहादुर तामाङ प्यानल सहित विजयी भएका हुन् । उनले ३९६ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका आइतबहादुर तामाङ्गले ३०१ मत मात्रै ल्याउन सके । यस्तै कांग्रेसका सुकलाल तामाङ्ग १४६ मत ल्याए ।
सदस्यमा समाजवादीका सुपा तामाङ ३७४ र बमबहादुर तामाङ ३६२ मत सहित निर्वाचित भए । यस्तै महिला सदस्यमा समाजवादीकी शान्ति तामाङ ३८४ मत, दलित महिला सदस्यमा समाजवादीकै पवित्रा कामी ३८६ मत सहित निर्वाचित भइन् ।
पुनर्वास नगरपालिकामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन गरेर चुनावमा सहभागी भएको थिए ।
नेपाली कांग्रेस र नेकपा एमाले एक्लै एक्लै चुनाव लडेका थिए ।